Comments Add Comment

म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने तयारी

५ फागुन, काठमाडौं । सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि पुनः अनुमति दिने तयारी गरेको छ । यसअघि पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो ।

अहिले २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरुले पनि यस्तो अनुमति मागिरहेका छन् । तर, वैदेशिक रोजगार विभागले जारी गरेको छैन ।

अवैध एजेन्ट अर्थात् दलालको अवाञ्छित सक्रियताका कारण वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ बनेको भन्दै विभागले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिन छलफल अघि बढाएको बताएको छ ।

वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल म्यानपावरलाई शाखा कार्यालय खोल्न दिनेबारे व्यवसायी र सरोकारवालासँग छलफल अघि बढाएको बताउँछन् ।

अवैध एजेन्टका कारण वैदेशिक रोजगारीका जाने कामदार ठगिने क्रम झनै बढेकाले म्यानपावरको शाखा विस्तारलाई खुला गर्नु पर्ने उनको दावी छ ।

‘म्यानपावरहरुलाई शाखा खोल्न नदिँदा जिल्लामा झनै दलालहरु सक्रिय भए, ठग्ने मनासयबाटै प्रेरित भएर श्रमिकसँग पैसा उठाउने र विभिन्न बाहनामा दुःख दिने गरेकाले भएकाले त्यसलाई रोक्न यस्तो व्यवस्था प्रभावकारी हुनसक्छ,’ दाहालले भने ।

म्यानपावर कम्पनीलाई कतिवटासम्म शाखा खोल्न दिने भनेर छलफल भइरहेको विभागले बताएको छ । सरकारले सबै म्यानपावरलाई प्रत्येक प्रदेशमा एक-एक वटासम्म शाखा कार्यालय खोल्न दिन सकिने बताएपनि व्यवसायी भने थप लचकता आवश्यक रहेको बताइरहेका छन् ।

शाखा कार्यालय खोल्दा के-के शाखा खोल्न पुरा गर्नुपर्ने, शाखाको सञ्चालन कसरी गर्ने, के-के नियम पालनना गर्ने ? लगायतका विषयहरु पनि तय गर्न बाँकी छ ।

नियमअनुसार ५ लाख रुपैयाँ थप धरौटी राखेपछि विभागले म्यानपावरलाई शाखा विस्तारको अनुमति दिनसक्छ ।

यसरी म्यानपावरलाई जिल्लासम्म विस्तार हन दिएपछि एजेन्टबाट भइरहेको ठगी घट्ने विश्वास गरिएको छ । अहिले म्यानपावरहरुसँग सेटिङ गर्दै सोझा-साझा युवालाई प्रलोभन देखाएर ठगी धन्दा चलाउने एजेन्टहरुको सञ्जाल बढ्दो छ ।

वैदेशिक रोजगर व्यवसायी संघले लामो समयदेखि एजेन्ट विस्थापित गर्न भन्दै शाखा विस्तारको अनुमति मागिरहेको थियो । युवालाई रोजगारीको अवसरबारे बुझ्न समेत काठमाडौं आउनैपर्ने बाध्यता हटाउन यस्तो सेवा प्रभावकारी हुने दावी संघको छ ।

वैधानिक रुपमा लाइसेन्स लिएका एजेन्टको संख्या साढे सयभन्दा बढी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment