
६ फागुन, काठमाडौं । नेताहरुको चर्को दबावका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेन । पार्टीको १४औं महाधिवेशन आगामी भदौ ७-१० गतेसम्म गर्ने निर्णय गर्दै केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।
बुधबारदेखि सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले संसद पुनर्स्थापनाको पक्षमा उत्रिनुपर्ने बताएका थिए ।
बिहीबारको बैठकमा बोेलेका नेता प्रकाशमान सिंहले सात प्रदेशमा सात वटा आमसभा गर्नुपर्ने बताएका थिए । अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि संसद विघटन असंवैधानिक हो भनेर पार्टीले भनिसकेको भन्दै यसको अर्थ संसद पुनर्स्थापना हुनुपर्छ भन्ने नै भएको बताएका थिए ।
तर महाधिवेशनमा केन्द्रीत हुने भन्दै सभापति देउवा आन्दोलनका कार्यक्रम घोषणा गर्न तयार भएनन् । बैठकले आन्दोलनलाई निरन्तरता दिने जिल्ला तल्लो कमिटीहरुलाई दिइको छ ।
पुस १३ गतेदेखि फागुन ३ गतेसम्म भएको आन्दोलनले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको पार्टीको धारणाको पक्षमा व्यापक जनमत प्रकट भएको भन्दै कांग्रेसको निर्णयमा भनिएको छ, ‘पार्टीको क्रियाशील सदस्यता वितरण र महाधिवेशन तयारीकालाई असर नपर्ने गरी आन्दोलनलाई निरन्तरता दिँदै कार्यक्रम निर्माण र आयोजना पार्टी जिल्ला कार्यसमिति एवं विभिन्न तहलाई गर्न निर्देशन दिइएको छ ।
जिल्लाले निर्धारण गरेका कार्यक्रमलाई असर नपर्ने गरी भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पनि आन्दोलन गर्ने कांग्रेसले बताएको छ ।
महाधिवेशन भदाै दोस्रो साता
पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी ६ महिना थप गर्ने निर्णय गर्दै १४औं महाधिवेशनको प्रस्ताव कार्यतालिका संशोधनसहित पास गरेको छ ।
गाउँ/नगर वडा अधिवेशन- | २०७८ असार ५ गते |
गाउँ/नगरपालिका अधिवेशन | २०७८ असार ७ गते |
प्रदेश सभा क्षेत्रीय अधिवेशन | २०७८ श्रावण १ गते |
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन | २०७८ श्रावण ३ गते |
एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन | २०७८ श्रावण ६ गते |
प्रदेश अधिवेशन | २०७८ श्रावण १० र ११ गते |
केन्द्रीय महाधिवेशन | २०७८ भाद्र ७,८,९ र १० काठमाडौं |
साथै केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरेको छ । समितिमा आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदिप पौडेल, श्याम घिमिरे, योगेन्द्र चौधरी र कल्याण गुरुङ सदस्य छन् ।
प्रतिक्रिया 4