Comments Add Comment

रुसका विपक्षी नेता नाभाल्नीको अपील खारेज

मानहानीको मुद्दामा जरिवाना

९ फागुन, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले अदालतमा यसअघिको निर्णयको विरुद्धमा गरेको अपील खारेज भएको छ । नाभाल्नीले यसअघि आफूलाई दिइएको तीन वर्षको जेल सजाय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै यो निर्णयविरुद्ध अपील गरेका थिए । त्यस्तै अर्को एक मुद्दामा उनी मानहानीमा दोषी पाइएका छन् । मानहानीको मुद्दामा पनि उनलाई जरिवानाको सजाय सुनाइएको छ ।

४४ वर्षीय नाभाल्नीले दुवै मुद्दा हारेको विषयमा उनका समर्थकहरुले भने आशंका व्यक्त गरेका छन् । उनीहरुले नाभाल्नी रुसको शासकका लागि एक चुनौतीको रुपमा उदाएको बताउँदै आएका छन् । त्यसैले रुसले उनलाई फसाउने योजना बनाइरहेको उनीहरुले बताउँदै आएका छन् ।

नाभाल्नीले अदालतमा रुसमा पछिल्लो समय अन्याय स्थापित भइरहेको आरोप लगाउँदै लाखौं मानिसहरुले भने मुलुकमा सत्यको जित चाहेको बताएका थिए । उनले आफू रुस फर्किएकोमा कुनै पछुतो नरहेको र सत्य नै आफ्नो शक्ति भएको पनि स्पष्ट पारेका छन् ।

गत महिना नाभाल्नी आफ्नो उपचारपछि रुस फर्किएका थिए । तर, उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । उनलाई यसअघिको शर्त उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको रुसले बताएको छ । पश्चिमा मुलुकहरुले भने नाभाल्नीलाई पक्राउ गरिएको विषयमा आपत्ति जनाउँदै आएका छन् । उनीहरुले यो विषयलाई लिएर मुलुकमा प्रतिबन्ध लाग्न सक्ने बताएका छन् । रुसले भने आफूमाथि प्रतिबन्ध लगाइए प्रतिबन्ध लगाउने सबै मुलुकसँगको सम्बन्ध तोड्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment