Comments Add Comment

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

प्रतीकात्मक तस्वीर

काठमाडौं, १४ फागुन । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, पाल्पा, सुर्खेत र मुगुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली गेटमा बा २ क ४५५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय अर्जुनकुमार रञ्जितकारको बिहीबार साँझ मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै बर्दियाको बाँसगढी नगरपालिका–३ लखना बेलुवामा भे १ त ७५०७ नम्बरको ट्याक्टरबाट लडेर त्यसमा सवार सोही नगरपालिकाका ४५ वर्षीय लालबहादुर थारुको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै पाल्पाको रामपुर नगरपालिका–७ किसानबारीमा लु १३ प ६८१४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रामपुर नगरपालिका–६ विजयपुरका ३० वर्षीय सन्जु आलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ मैकलमा रा १ त ३०४० नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खस्दा बिहीबार दिउँसो एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–४ का १८ वर्षीय होमराज कुमाई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बाम लौरीडाँडास्थित सडकमा लु ४ त ७३६६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री ४५ वर्षीया धर्मशिला बढुवालको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गमगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment