Comments Add Comment

मनाङमा ३३ केभी प्रसारण लाइन पुग्यो

१७ फागुन, काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय विद्युत प्रसारण लाइन पुगेको छ । मनाङमा मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरंग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन जोडिएको हो ।

नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो । सीमित जनशक्ति, भौगोलिक विकटता अत्याधिक चिसोजस्ता प्रतिकूल समस्या भए पनि पटकपटकको प्रयासपछि भारतबाट फाइबर इन्सुलेटर झिकाएर जडान गरेपछि सफल भएको केन्द्रका प्रमुख सुवेदीले बताए । मनाङमा कार्यालय स्थापना भएको १८ महिनामा नै केन्द्रीय प्रसारण जडान जडान भएको उनले जानकारी दिए ।

दशकौंदेखि लघु जलविद्युतको भरमा दैनिकी चलाउँदै आएका मनाङवासीले केन्द्रीय लाइनको विस्तारसँगै आधुनिक प्रविधिका उपकरणसँग समेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त रानाको भनाइ छ । उनका अनुसार यो केन्द्रीय प्रसारण लाइन लमजुङको उदीपुर सब-इस्टेसनबाट राँधी हाइड्रोसँग जोडी मनाङको चामे गाउँपालिका-१ स्यार्कुको सबस्टेसनमा जोडिएको हो ।

२०५१ सालदेखि नै मनाङलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न खोजिए पनि राजनीतिक उतारचढाव, भौगोलिक विकटता र आवश्यक सामग्रीको अभावका कारण पूरा हुन सकेको थिएन ।

साबिकको लघु जलविद्युतको भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय, सरकारी कार्यालय तथा उद्योगी-व्यवसायी समेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment