Comments Add Comment

टेलिभिजनले विमलमा जगाएको अभिनय मोह

सानो छँदा मोडल विमल अधिकारीलाई कलाकार बन्छु भन्ने कल्पना नै थिएन । सानैबाट ‘इन्डियन आर्मी’ बन्ने सपना बोकेका विमलको मनबाट यो हुटहुटी एसएलसी पास गर्दासम्म मरेको थिएन ।

स्याङ्जाको चापाकोटका विमलको परिवारमा खान–लाउनका खासै दुःख थिएन । तैपनी, एसएलसी दिएपछि परिवारसँग खर्च माग्नु हुँदैन भन्ने सोच उनमा आएपछि उनले काठमाडौंको एक कम्पनीमा मार्केटिङको काम गर्न थाले । त्यसपछि विमलको ‘आर्मी’ बन्ने लक्ष्य फेरियो । काम गर्दै ‘प्लस टु’ पढ्दै गर्दा उनमा अष्टे«लिया जाने सोच पनि नआएको होइन ।

गाउँमा विभिन्न क्लबहरुले सांगीतिक कार्यक्रमको आयोजना गर्दा विमललाई पनि नृत्य सिक्न धेरैले आग्रह गरेका थिए । साथीहरुको आग्रहकै कारण उनी नृत्य सिक्न भन्दै कोरियोग्राफर तथा निर्देशक शंकर वीसीको अफिससम्म पुगे ।

शंकरसँग नृत्य सिक्न आउने धेरै अनुहार उनका लागि परिचित थिए । जब विमल कोठामा फर्किन्थे, नृत्य सिक्न जाँदा देखेका कलाकारहरु टेलिभिजनमा नाँचिरहेका हुन्थे । विमललाई रहर लाग्यो, म पनि म्युजिक भिडियोमा अभिनय गरेँ भने टेलिभिजनमा देखिन्छु । ‘त्यतिबेला एउटा भएपनि म्युजिक भिडियोमा काम गर्ने रहर पलायो’ विमलले भने । विमललाई पनि टेलिभिजनमा देखिने रहर जाग्यो । उनले अनलाइनखबरसँगको भेटमा भने–‘म नयाँ मान्छेलाई कसैले भिडियो खेलाउने कुरा भएन । यसपछि, आफै ३५ हजार लगानी गरेर म्युजिक भिडियोमा अभिनय गरेँ ।’

राजेन्द्र कँडेल र विष्णु माझीको आवाजमा रहेको ‘किन हुन्छौ ठूली’ बोलको गीतको भिडियोमा विमलले पहिलोपटक अभिनय गरेका थिए । त्यो एक दशक अगाडिको समय थियो । विमलको भिडियो टेलिभिजनमा प्रशारण भयो ।

गाउँमा ‘फलानोको छोरो टेलिभिजनमा देखियो’ भन्ने चर्चा चल्न थाल्यो । साथीहरुले अर्को भिडियो कहिले आउँछ भनेर उनलाई प्रश्न गर्न थाले । त्यसपछि फेरि २५ हजार रुपैयाँ लगानी गरेर अर्को भिडियो खेले । तर त्यो भिडियो सार्वजनिक भएन ।

त्यसपछि आफै शब्द लेखे, संगीत भरे । विमलले नयाँ गीत आफै तयार पारे । यो गीतमा कुलेन्द्र विश्वकर्मा र टिका पुनको स्वर थियो । गीतको बोल थियो, ‘मन्दिर एउटा’ ।

सीआरबिटीको समयमा सार्वजनिक गीत विमलको लागि कोशेढुंगा नै सावित भयो । विमलले अनलाइनखबरसँग सुनाए–‘सुरुमा रहरमा भिडियो खेलेँ । साथीहरुको हौसला पाएँँ । यो गीत आएपछि त अभिनय नै सबथोक भयो ।’

भिडियो चलेपछि उनलाई अफर पनि आउन थाल्यो । यसपछि भने उनले ४ बर्षदेखिको जागिर छाडे । आफैले ‘भावना म्युजिक सोलुसन’ नामको म्युजिक कम्पनीको सुरुवात गरे । यही कम्पनीबाट विमलले भिडियो निर्माण पनि गरे ।

महिनामा ४३ वटासम्म भिडियो
विशेषगरि, विरह भाकामा विमलको माग धेरै आउन थाल्यो । ‘आजभन्दा भोली माया, बन्दै जाओस् गाढा’, ‘मर्ने मिति’ लगायतका लोकदोहोरी गीतले आफूलाई चिनाउँदै गएको विमल बताउँछन् । लोकदोहोरी मात्र होइन् ‘मलाई दुख्दा दुख्ने मुटु’, ‘जस्को काखमा हास्थेँ हिजो’, ‘जो बिना एकपल’, ‘तिम्रो लागि दुःख त’ जस्ता आधुनिक गीतमा पनि विमललाई दर्शकले रुचाए ।

‘महिनामा ४३ वटासम्म म्युजिक भिडियोमा अभिनय गरेको छु । ३ दिनसम्म रातदिन काम गरेको अनुभव पनि छ’ उनले ब्यस्तताका दिन सुनाए ।

पछिल्लो समयमा ‘कल्ले बोलायो’, ‘लुकीलुकी नहेर झ्यालैमा’, ‘के भनौं हजुर’ ‘पछयौरी लिस्यो’ लगायतका गीतले उनको राम्रो चर्चा भयो । आजसम्म उनले १ हजार ३ सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । त्यस्तै ४ सय भन्दा बढी गीतमा आफ्नो शब्द तथा संगीत रहेको विमलले बताए ।

म्युजिक भिडियोमा आजपनि विमलको व्यस्तता उत्तिकै छ । अहिलेपनि महिनामा १५ देखि २० वटासम्म म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।

आफूले म्युजिक क्षेत्रबाट सबथोक पाएको बताउँदै भविष्य यसमै विताउने विमल बताउँछन् । भन्छन्–‘जे कमाएको छु, सांगीतिक क्षेत्रबाटै कमाएको छु । यसबाटै खान लगाउन, सहज जिवनयापन गर्न पुगिरहेको छ । भविष्यमा पनि यहि क्षेत्रमा राम्रो काम गर्दै जान पाउँ ।’

उनलाई सांगीतिक क्षेत्रमा देखिएका विकृतिले चित्त दुखाउँछ । जुन कुराबारे बोल्दा विमल गत महिना विवादमा समेत तानिए ।

‘पछिल्लो समय भाइरलको पछि दौडिने टे«न्ड मौलाएको छ । यसबारे बोल्दा आफैलाई गाली आउँछ’ उनी गुनासो सुनाउँछन्–‘प्रतिभा छ भने ल्याउनुहोस् । तर भाइरल भएकै कारण केही समयका लागि नल्याए हुन्थ्यो भन्ने लाग्छ । यसले कलाकारितालाई मात्र नभई भाइरल व्यक्तिलाई समेत असर गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment