Comments Add Comment

प्रभाकरको प्रस्ताव- सचिवालय सदस्यबाहेकका सबै सांसदबीच छलफल गरौं

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्मा (प्रभाकर)ले नेकपाका सबै सांसदहरुबीच संयुक्त छलफल गर्न प्रस्ताव गरेका छन् ।

संसद पुनःस्थापनापछि प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको भन्दै उनले सचिवालय सदस्यहरु बाहेकका सांसदबीच छलफल गर्न प्रस्ताव गरेका हुन् ।

जनमतको सम्मान र जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको उनको भनाइ छ ।

‘सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु,’ शर्माले भनेका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘प्रतिनिधिसभा बैठक अगाडि नै छलफल गरौं भन्ने मेरो प्रस्ताव हो । सबै साथीहरु सम्पर्कमा आइसकेपछि थप कुरा अघि बढ्ला ।’

यो छलफल कसैविरुद्धको हस्ताक्षर वा नेतृत्वको पक्षमा नभएर सांसदहरुको साझा सुझाव तयार गर्ने अर्थमा भएको समेत उनले बताएका छन् । शर्माले भनेका छन्, ‘कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment