Comments Add Comment

प्रधानमन्त्रीले चिडियाखानाका गैंडाको ‘अभिभावकत्व ग्रहण’ गरेपछि…

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैंडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च व्यहोर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्ववन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एक महिनाका लागि गैंडाको खाना खर्च व्यहोर्ने घोषणा गरे ।

उनले भने, ‘प्रधानमन्त्रीका हैसियतले आफूले सरकारबाट पाउने रकम वर्षभरीको सबै कोरोना संक्रमण कोषमा दिएकाले श्रीमती राधिका शाक्यको निवृत्तिभरणबाट आउने रकमबाट गैँडाका लागि एक महिनाको खाना खर्च दिनेछौँ ।’

प्रधानमन्त्री ओलीले सदर चिडियाखाना सानो भएकाले आगामी दिनमा वन्यजन्तुको उद्धार तथा वन्यजन्तुको परस्थानीय संरक्षण, वैज्ञानिक अध्ययन अनुसन्धान तथा पर्या–पर्यटन अभिवृद्धिका लागि भक्तपुरको सूर्यविनायकमा बृहत् खालको चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भई निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए । वन तथा वातावरण मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दैछ ।

प्रधानमन्त्री ओलीले जावलाखेलको चिडियाखाना अवलोकन गर्नका लागि आउने ज्येष्ठ नागरिक, गर्भवती, महिला, अपाङ्गता भएका तथा बालबालिकालाई हिँडडुल गरी वन्यजन्तु अवलोकन गर्न समस्या हुने भएकाले यसका लागि सरकारका तर्फबाट चार वटा विद्युतीय बाहन (रिक्सा) उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयलाई आवश्यक समन्वय गरी प्रक्रिया अगाडि बढाउन आग्रह तथा निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले सदर चिडियाखानाको अवलोकन भ्रमणसमेत गरेका थिए ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ का कारण चिडियाखानाको आम्दानी घट्न गई यसको व्यवस्थापनमा परेको समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग आवश्यक बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको बताए । उनले भने, ‘महामारीका कारण चिडियाखानाको आम्दानी घटेर केही समस्या भएको छ, त्यसको समाधानका लागि हाम्रो मन्त्रालयबाट बजेटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ, सम्भवतः चाँडै बजेट आउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment