Comments Add Comment

भारतको किसान आन्दोलन : दिल्ली बाहिरका प्रमुख सडक ठप्प पार्ने तयारी

Photo Credit : REUTERS

२१ फागुन, काठमाडौं । भारतका किसानहरुले राजधानी सहर नयाँ दिल्लीबाहिरका प्रमुख सडक शनिबार ठप्प पार्ने तयारी गरेका छन् । सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा निरन्तर प्रदर्शन गर्दै आइरहेका उनीहरुले आफूहरुको अभियानको एक सयौं दिनको अवसर पारेर प्रमुख सडक ठप्प पार्ने निर्णय गरेका हुन् ।

गत डिसेम्बरयता भारतको नयाँ दिल्लीबाहिर हजारौं किसानहरु क्याम्प बनाएर सरकारको विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारले ल्याएको नयाँ कानुनले मुलुकको कृषि क्षेत्र निजी कम्पनीको हातमा जाने र किसानहरु झन् मर्कामा पर्ने बताउँदै आएका छन् ।

भारतको पञ्जाब, हरियाणा र उत्तर प्रदेशका किसानहरुले निरन्तर यो कानुनको विरोध गर्दै आएका छन् । किसानको संगठनको नेताले शुक्रबार दिएको जानकारीअनुसार शनिबार राजधानी बाहिरका मुख्य सडकहरु पाँच घण्टासम्म ठप्प पार्ने योजना किसानहरुको छ ।

भारतको सरकारले भने कृषि कानुन किसानहरुको हितको लागि ल्याइएको दाबी गर्दै आएको छ । भारतको किसान आन्दोलनको समर्थन गरेको भन्दै भारतले विभिन्न अभियान्ताहरु र सामाजिक सञ्जालहरुलाई पनि चेतावनी दिएको थियो । भारतको सरकारले यो कानुन सम्पूर्ण प्रक्रिया पूरा गरी संसदबाट पारित गराइएको भन्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गर्न नमिल्ने तर्क गर्दै आएको छ ।

किसानहरुले भने यो कानुन पूर्णरुपमा फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले आफूहरु निकै लामो यात्राको लागि तयार रहेको बताएका छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment