
२१ फागुन, काठमाडौं । शुक्रबार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको विषयमा अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना भइरहेको अवस्थामा अर्का एक प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि गत बुधबार म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।म्यानमारको संकटबारे संयुक्त राष्ट्रसंघमा पनि छलफल हुँदैछ ।
म्यानमारका जारी आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै संयुक्त राष्ट्रसंघ र अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । प्रदर्शनकारीहरुले म्यानमारमा प्रजातन्त्रको पुनर्बहालीको माग गरिरहेका छन् । ‘ढुङ्गेयुग सकिइसक्यो, अब हामीले धम्क्याउँदैमा डराउने छैनौं’, प्रदर्शनकारीहरुले भनेका छन् । प्रदर्शनकारीको संख्या बढ्दै गएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली एक प्रदर्शनकारीको घाँटीमा लागेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
म्यानमारका अन्य सहरमा पनि शुक्रबार ठूलो संख्यामा प्रदर्शनकारीहरु उपस्थित भएका थिए ।
-एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4