+
+

भादगाउँले टोपीमा धागो बाहिरको, टाँक सिउने सियो पनि विदेशी : प्रधानमन्त्री

'के गर्नु देशभक्तिले टाँक नजोडिने रहेछ'

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते २१:३३

२४, फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक जीवनमा प्रयोग हुने अतिआवश्यक वस्तु स्वदेशमै उत्पादन गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् ।

स्वदेशी वस्तुको प्रयोग संसारभर फैलाउन तथा स्वदेशी उपभोक्तालाई प्रयोगका लागि प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघले अघि सारेको ‘मेक इन नेपाल, स्वदेशी अभियान’को सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

विज्ञापनको पछि लागेर उपभोक्ताहरुले विदेशी उत्पादनको अत्यधिक उपभोग गर्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले दैनिक जीवनको अत्यवश्यक वस्तुहरु अब स्वदेशमै उत्पादन हुनु पर्नेमा जोड दिए ।

कपडादेखि दैनिक खानपानका वस्तुमा समेत आयातको भर पर्नु चिन्ताको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘टोपी ला’छु भादगाउँले, धागो बाहिरको, सर्टको टाँक चुडियो भने विदेशी सियोले जोड्नुपर्छ,’ उनले थपे के ‘के गर्नु देशभक्तिले टाँक नजोडिने रहेछ ।’

खाद्यन्न, पेय पदार्थ, लत्ताकपडा देखि हरेक कुरामा नेपाल आयातमा निर्भर हुने दिनको अन्त्य गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उद्योगीलाई त्यस्ता वस्तुको उत्पादन थाल्न आग्रह गरे ।

विदेशबाट ल्याएको लामो सीताको भातलाई पौष्टिक र धमिलो पानीलाई जुस भनेर खाने दिनको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । कच्चा पदार्थ विदेशबाट ल्याएर तथा स्वदेशी कच्चा पदार्थबाटै कयौं वस्तु उत्पादन थाल्ने उद्योगलाई सरकारले सहयोग गर्ने वचन पनि उनले दिए ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सरकार लागेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली उत्पादन संसारभर फैलाउने परिसंघको अभियानलाई सरकारले साथ दिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले स्वदेशी उत्पादनको ब्रान्डिङ गर्ने परिसंघको अभियानलाई मन्त्रालयले भरपुर सहयोग गर्ने बताए ।

सरकारले अभियानकै रुपमा औद्योगिक पूर्वाधारको विकासका काम थालेको भन्दै उनले उद्योगी व्यवसायीका कानुनी तथा व्याहारिक समस्याहरु समाधान गर्ने आश्वासन पनि दिए ।

स्वदेशी वस्तु प्रयोग गर्न उपभोक्तालाई जागरुक बनाउने तथा नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने उद्देश्यले परिसंघले ‘मेक इन नेपाल’ अभियान सुरुआत गरेको परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा बताए ।

अभियानबारे प्रष्ट्याउँदै उनले भने ‘नेपालको एक सिंगे गैडाको लोगोमार्फत नेपाली उत्पादन संसारभर चिनाइने छ, नेपाली उपभोक्तालाई पनि स्वदेशी वस्तु प्रयोगमा प्रोत्साहन गरिने छ ।’ विस्तारै ‘स्वदेशी समान हाम्रो स्वभिमान’ भन्ने नाराका साथ देश तथा विदेशभर फैलाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?