Comments Add Comment

सचिवलाई कारबाहीको माग गर्दै मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र

सचिव लोकनाथ पौड्याल र मन्त्रीले कारबाहीको माग गर्दै लेखेको पत्र ।

२ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले आफनै मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका हुन् ।

सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको, पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेरको मन्त्रीले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै कामहरु अघि नबढेपछि पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताएका छन् ।

‘चालू आर्थिक वर्ष २०७७/०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको कार्य गरेनन् । सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ पत्रमा लेखिएको छ ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च ३.२३ प्रतिशत मात्रै छ । मन्त्रालयसँग रहेको पुँजीगत तर्फको एक खर्ब ४२ करोड २० लाख १४ हजार मध्ये चार करोड ५९ लाख ३० हजार १५१ रुपैयाँ मात्रै खर्च भएको छ ।

कर्णाली राजमार्गको दैलेखमा पर्ने आठबीस नगरपालिकामा ट्रमा सेन्टर, ७८ वटै पालिकामा खेल मैदान, पाँच जिल्लाका पाँच अस्पताल भवन निर्माणलगायतका कामहरु सचिवकै कारण सुरु हुँन नसकेको मन्त्रालयका एक कर्मचारीले बताए ।

सचिवकै कारण कर्णाली प्रदेश अस्पतालहरुमा कार्यरत विशेषज्ञ सेवा अन्तर्गतका कर्मचारीहरुले तलब पाएका छैनन् । अघिल्लो साता करारमा काम गर्दै आएका अस्पताल कर्मचारीहरुले सचिवको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।

मन्त्री रावलको पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गेपछि सचिव पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काजमा सरुवा गरेको छ ।

हेर्नुहोस् पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment