Comments Add Comment

बुर्कामा प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णयमा पाकिस्तानको आपत्ति

३ चैत, काठमाडौं । सार्वजनिक स्थलमा बुर्कामा प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णयमा पाकिस्तानले आपत्ति जनाएको छ । श्रीलंकाका लागि पाकिस्तानी उच्चायुक्त साद खट्टकले बुर्कामा प्रतिबन्धको निर्णयको विरोध गर्दै यसले मुलुकभित्र र बाहिरका मुस्लिमको भावनामा ठेस लागेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् खट्टकले भनेका छन्, ‘एकातर्फ पहिला नै महामारीको कारण श्रीलंका आर्थिक समस्याको सामना गरिरहेको छ, अर्कोतर्फ अन्तर्राष्ट्रियस्तरमा आफ्नो छविको विषयलाई लिएर विभिन्न चुनौतीको सामना गरिरहेको छ । यस्तोमा आर्थिक समस्याका साथै सुरक्षाको नाममा चालिएको यो विभाजनकारी कदमले श्रीलंकामाथि अल्पसंख्यक र मानवाधिकारको विषयलाई लिएर उठिरहेको प्रश्न अझै जोडदाररुपमा उठ्नेछ ।’

आइतबार श्रीलंकाले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै बुर्कामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । श्रीलंकाका जन सुरक्षा मन्त्री सरथ वीरासेकाराले अब यो नियम कार्यान्वयनमा आउन संसदको अनुमति आवश्यक पर्ने बताएका थिए । गत महिना पाकिस्तानी प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमण गरेका थिए । उक्त भ्रमणको क्रममा खानले श्रीलंकामा कोरोनाबाट मर्ने मुस्लिम नागरिकको शव पनि जलाउनुपर्ने नियमको समर्थन गरेका थिए ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment