Comments Add Comment

किन आलोचित बन्यो ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खला ?

‘दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो ।

पहिलो भाग प्रशारण भएसँगै यो शोले दर्शकको नकारात्मक प्रतिक्रिया पाएको छ । युटुबमा यो शोलाई लिएर दर्शकले आलोचना गरिरहेका छन् । यसको मुख्यकारण भने, यसका निर्णायकहरु हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कलाकारहरुले समेत ‘दोहोरी च्याम्पियन’मा निर्णायकको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक संजालबाटै आलोचना गरिरहेका छन् ।

‘दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । यस्तै, लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालकको भूमिकामा छन् ।

शनिबार युट्युबमा सार्वजनिक यसको पहिलो श्रृङ्खलाले बुधबार बिहानसम्म ३ लाख १० हजार बढी भ्यूज बटुलेको छ । जसमा ८ हजार बढी प्रतिक्रियाहरु आएका छन् । अधिकांश प्रतिक्रिया आलोचनाले नै भरिएका छन् । अझ, विशेषगरि निर्णायक चन्द्र शर्माले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीमा धेरैले आक्रोश पोखेका छन् । कल्पना दाहालको प्रस्तुतिपछि चन्द्र शर्माले प्रश्न गरेका छन्, ‘हामीले अरु कुनै टीभी–टीभीतिर देखेको कल्पना बैनी हो तपाई ?
तपाई अरु–अरु दोहोरी, एक दुई चोटी कताकता भाइरल–साइरल भएको बैनी हो ? त्यही कल्पना बैनी हो ?’ जुन प्रश्नमा निर्णायकले प्रतियोगीलाई ‘होच्याएर’प्रश्न गरेको भन्दै दर्शकले आलोचना गरेका छन् ।

गायक भगवान् भण्डारीले सामाजिक संजालमा स्टाटस लेख्दै यो बिषयमा ब्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्–‘तपाई त्यो पैला पैला एउटा दुइटा टीभी सीभीमा दोहोरी सोहोरी गाएर भाइरल साइरल भाको कल्पना सल्पना हो ?’

त्यस्तै, कतिपय प्रतियोगीको प्रस्तुतीपछि निर्णायकको निर्णय पनि बाँझिएको देखिन्छ । लोकदोहोरी क्षेत्रले फड्को मारेपनि निर्णायकको निर्णय पुरानो शैलीको भएको कतिपयले प्रतिक्रिया दिएका छन् । कतिपयले निर्णायकले प्रतिस्पर्धीको गायन प्रतिभा भन्दा पहिरनमा बढी ध्यान दिएको भन्दै आलोचना गरेका छन् । कतिपयले भने यसका निर्णायकहरु परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्याम्पियन’लाई नेपाली लोकदोहोरी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ । यो प्रतियोगीतामा प्रथम हुनेले २० लाख, दोश्रो स्थान प्राप्त गर्नेले १० लाख, तेश्रो स्थान प्राप्त गर्नेले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । ‘दोहोरी च्याम्पियन’ हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment