
५ चैत, रियो दि जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ ।
यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ३०३ जना संक्रमित भएका छन् ।
ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार बढीको मृत्यु भइसकेको छ ।
त्यसैगरी सोही अवधिमा कम्तीमा दुई हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित साओपाउलोमा देखिएको मन्त्रालयले जनाएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पतालमा शैया र औषधि अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँ कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए ।
पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यो जानकारी दिएको पनि समाचारमा जनाइएको छ ।
ब्राजिल विश्वमा कोरोना संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो ।
प्रतिक्रिया 4