Comments Add Comment

पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषको लगानी आवश्यक : राजस्व सचिव

५ चैत, काठमाडौं । राजस्व सचिव रामशरण पुडासैनीले पूर्वाधार र उत्पादनशिल क्षेत्रमा नागरिक लगानी कोषले लगानी परिचालन गर्नुपर्ने बताएका छन् ।

नागरीक लगानी कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पुँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताए । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको धारणा राखे । त्यसैगरी कोषले पुँजी बजारको विकास, गतिशिलता र बजारको स्थायितत्वको विषयमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कोषबाट सञ्चालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ लगानी गरेको बताए । डा.भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा जोड दिए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कोषले काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजना सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनको भनाइ थियो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरीरहेकोमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तारका लागि भवन भाडामा लिई कार्यसञ्चालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको बताए । कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए । कोषको भौतिक पूर्वाधार, मानविय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संसोधन भैरहेको भन्दै उनले संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफनो कार्यलाई अगाडि बढाएको धारणा राखे । उनले नेपालको आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने प्रतिवद्धना व्यक्त गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कोषले कुल लगानीको ६/७ प्रतिशत मात्रै पुँजी बजारमा लगानी गरेको भन्दै उनले यो प्रतिशत १०/१२ प्रतिशत सम्म पु¥याउनुपर्नेमा जोड दिए । स्वदेशी मात्रै नभएर विदेसी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता औल्याए । कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले समग्र कर्मचारीको हकहितमा काम गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा कोषले सञ्चालन कार्यक्रमहरुमा कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानी कर्ता हिसाव योजना, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष, राष्ट्रिय अनुसन्धान बिमा कोष तथा नागरिक पेन्सन योजना लगायतका बारेमा जानकारी दिइएको थियो । योसँगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ ।

कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी एवं खेलकुद लगायतका कार्यक्रम पनि आयोजना गरेको थियो । कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत समेत गरिएको थियो भने प्रविन राई, मनमोहन मिश्र र सिरिषा श्रेष्ठ उत्कृष्ट कर्मचारीको रुपमा छनोट भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment