Comments Add Comment
अध्ययनको निष्कर्ष :

उपत्यकाको सवारी जामले वर्षमा एक खर्ब १६ अर्बको क्षति

मोटरसाइकलमा यात्रा गर्ने व्यक्ति प्रतिघण्टा २१ मिनेट जाममा

६ चैत, काठमाडौं । उपत्यका हुने सवारी जामले वर्षमा एक खर्ब १६ अर्बको क्षति हुने देखिएको छ । सो अध्ययनअनुसार काठमाडौं उपत्यकामा सवारी जामका कारण मोटरसाइकलमा यात्रा गर्ने व्यक्ति प्रतिघण्टा २१ मिनेट जाममा पर्ने गरेका छन् ।

काठमाडौं उपत्यका भित्रको सवारी जामले देशको अर्थतन्त्रलाई पारेको असरबारे अर्थशास्त्री डा. शेरजंग बहादुर चन्द नेतृत्वको समूहले गरेको सोधपत्रले यस्तो तथ्य पत्ता लागेको हो ।

अध्ययनअनुसार जाम र अव्यवस्थित यातायात प्रणालीका कारण पैदल यात्रु नै औषत ७ मिनेट रोकिनु पर्ने अवस्था आएको उल्लेख छ । यस्तै गन्तव्यमा हिंडेको कार २७ मिनेट प्रतिघन्टा र सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरु ३४ मिनेट प्रतिघन्टा ढिलो हुने गरेको पनि अध्ययनमा उल्लेख छ । सवारी जामका कारण इन्धन खर्च बढेको सोधपत्रमा भनिएको छ ।

एक लिटर इन्धनले दुई पांग्रे सवारी साधन २६ किलोमिटर, चारपांग्रे कार, जीप ८ किलोमिटर मात्रै चल्ने गरेको डा चन्दको निश्कर्ष छ । जामले कार्बन उत्सर्जन २८ प्रतिशत बढी हुने गरेको, सवारी साधनको ह्रास कट्टी ४ प्रतिशतले बढी हुने गरेको र जामका कारण मानसिक रोगीको संख्या पनि  ५ प्रतिशतले बढेको अध्ययनमा जनाइएको छ । जामकै कारण काठमाडौं उपत्यकामा ट्राफिक प्रवाह (बग्ने गति) ब्यस्त समयमा १४ किलोमिटर प्रतिघण्टा, सामान्य समयमा ३२ किलोमिटर प्रतिघण्टा र रातिको समयमा ५५ किलोमिटर प्रतिघण्टा रहेको पनि सोधमा उल्लेख छ ।

जामको वार्षिक भार एक खर्ब १६ अर्ब

सोधपत्रकाअनुसार एक बर्षमा काठमाडौँ उपत्यका भित्रको जामले देशको अर्थतन्त्रलाई अनुमानित १ खर्ब १६ अर्ब ४० करोड भन्दा बढी आर्थिक भार परेको देखाएको छ । जामको कारण आर्थिक व्यक्तिको समय ढिला भएको बार्षिक रकम ९ अर्ब १ करोड, जामले गर्दा बढेको इन्धन खर्च सामान्य भन्दा २ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ बढी रहेको सोधमा उल्लेख छ ।

यस्तै जामका कारण भार पर्दा सवारी साधन मूल्य ह्रासमा पनि सामान्य मूल्य भन्दा ४ प्रतिशत बढीले ह्रास आएको अध्ययनमा भनिएको छ । जसको आर्थिक भार ३३ अर्ब १८ करोड रहेको रहेको अनुमान गरिएको छ । यस्तै सामान्य भन्दा कार्बन उत्सर्जन २८ प्रतिशतले बढीको र त्यसको आर्थिक भार बार्षिक ७० अर्ब ५० करोड भन्दा बढी रहेको पाइएको छ ।

यस्तै जामले गर्दा बढेको बिरामीको आर्थिक व्यय भार बार्षिक २ अर्ब रहेको तथा ट्राफिक व्यवस्थापनमा गर्नुपर्ने भन्दा बढी खर्च गर्नु परेको बाध्यात्मक अवस्थाको आर्थिक व्ययभार बार्षिक १ अर्ब ९० करोड जति रहेको पाइएको अध्ययनले देखाएको छ ।

सडक, खानेपानी, बिजुली, ढल, मर्मत जस्तै विभिन्न मर्मतहरुमा लाग्ने रकम भन्दा ३ अर्ब ५९ करोड बढी रकम बार्षिक लाग्ने गरेको, साथै सवारी जामले दुर्घटना बढेको र उक्त बढेको दुर्घटना खर्च १ अर्ब २२ करोड हुने गरेको अध्ययनले देखाएको छ ।

गणितीय अर्थशास्त्रको कल्पना गरी गणितीय मूल्य भारको आधारमा जामको आर्थिक गणना गरिएको चन्दले बताए । उपत्यकाका मानिसको औषत वार्षिक आम्दानी तीन लाख ७० हजार रहेको र एक दिनमा ८ घण्टा काम गर्दा प्रतिदिन आम्दानी १२ सय ३३ रुपैयाँ हुन आउने र प्रतिघण्टाको आम्दानी १५४ रुपैयाँ हुन जाने देखिएको डा. चन्दले बताए ।

६ महिना लगाएर गरिएको अध्ययनमा १८ देखि २० जनाको समूहले काम गरेको र १२ सय भन्दा बढी मानिसमा सर्भे गरिएको चन्दले बताए । चन्द एटालन्टीक इन्टरनेश्नल विश्वविद्यलयका पोष्ट डक्टोरेट शोधकर्ता हुन् ।

हेर्नुहोस् अध्ययनको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment