Comments Add Comment

अघाउँदैन मन खप्तडमा

पर, निकै परसम्म फैलिएको लेकाली फाँट । हरिया चउर र ढकमक्क जंगली फूलहरू । फाँटको मध्यभागलाई छिचोलेर बगेको कञ्चन खोला । खोलाले दुईतर्फ चिरा पारेर बनाएको त्रिभुजाकारको सानो भू–भागमा अवस्थित मन्दिर !

आवरणमा देखिने खप्तड जम्माजम्मी यत्ति हो ।

तर, यो मनोहर स्थल आफैंमा एक तपोभूमि, औषधीय वनस्पतिको भण्डार र जैविक विविधताको खानी हो । कुनै बखत प्रख्यात साधक एवं विचारक खप्तड बाबाले यही भूमिमा अटुट साधना गरेका थिए । यही भूमिमा बसेर उनले अध्यात्म, विचार विज्ञान र स्वास्थ्य विज्ञानका गहन खोज एवं अध्ययन गरे । पौराणिक कालमा ऋषिमुनिहरूले समेत तपस्या गरेको यस थलोलाई पुराणमा खेचरादी पर्वतको रूपमा वर्णन गरिएको छ ।

२२ पाटन (समथर भू–भाग) र ५३ वटा थुम्काले यसको भौगोलिक बनावटलाई झनै मनमोहक बनाएको छ । समथर फाँटलाई नियालिरहे झैं लाग्ने थुम्काहरूलाई स्थानीयले झोती समेत भन्ने गर्छन् ।

समुद्री सतहबाट तीन हजार मिटर उँचाइमा रहेको खप्तड २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा, मठ–मन्दिर रहेको तपोभूमि खप्तड तीर्थस्थल पनि हो ।

खप्तड दुर्लभ पशुपक्षीको सुरक्षित आश्रयस्थल पनि हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको यस भेगलाई खप्तड राष्ट्रिय निकुञ्जअन्तर्गत संरक्षण गरिएको छ ।

गन्तव्य खप्तड

लामो तयारीपछि यसपालि अमरबहादुर शाहीको निम्तोमा खप्तडको फन्को लगाउने मेसो जु¥यो । उसो त शाहीसँगै १० वर्षअघि पनि खप्तड घुमेका थियौं । शाही वाइल्ड वेस्ट नेपालका परिकल्पनाकार तथा रैका ट्राभल्स एण्ड टुरका प्रबन्ध निर्देशक हुन् ।

कोभिडको कारण पर्यटकीय गन्तव्यहरू सुनसान बन्दै गएको अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न बुद्ध एअर, बुद्ध होलिडेज र रैका ट्राभल्स एण्ड टुर्सले संयुक्त रूपमा पश्चिमको पर्यटनलाई सघाउ पु¥याउने कार्ययोजना बनाए । त्यही मेसोमा खप्तड, रारा, बर्दिया, शुक्लाफाँटा र डोल्पाको पर्यटन प्रवद्र्धन गर्ने प्याकेज सार्वजनिक गरिएको छ । प्याकेजअन्तर्गत यसपालि हामीले खप्तडको यात्रा ग¥यौं ।

यात्राका संयोजक जनकराज भारती र सह–संयोजक राजु श्रेष्ठसहित व्यवसायी जगन्नाथ गिरी, सुमन पोखरेल, सम्पूर्ण श्रेष्ठ, अनुप घिमिरे, कृष्ण तिमल्सिना, दीपक अर्याल, नारायण ज्याख्वा, नेपाल टेलिकमका मोहनकुमार सत्याल तथा कवि हेमन्त विवशसहितको टोली यात्रामा सामेल थियो ।

खप्तड यात्राको पहिलो दिन काठमाडौंदेखि धनगढी र त्यहाँदेखि दिपायलसम्म हवाई यात्रा गरियो । दिपायलमा खानपान गरेपछि हामी अगाडि बढ्यौं । दिपायलदेखि झिग्रनास्थित खप्तड होमस्टेसम्मको यात्रा जीपमा भयो । यो यात्रा तीन घण्टाको थियो ।

पैदल यात्रा

झिग्रनादेखि खप्तडका लागि पैदल यात्रा गर्नुपर्ने हुन्छ । यो यात्रा कठिन तर रोमाञ्चक हुन्छ । टोपी खस्ने ठाडो उकालोमा स्याँ–स्याँ गर्दै हिंड्नुपर्ने ।

बिहानको ६ नबज्दै हामी हिंड्न थाल्यौं । झिग्रनाको उकालो छिचोलेर बिचपानीसम्म पुग्न ६ घण्टा लाग्यो । यसबीचमा थकाइ मार्नेदेखि अरू सुविधा पाइँदैन । बिचपानीमा भने एउटा होटल भेटियो । त्यही ठाउँमा खाना खाएर फेरि हामीले यात्रा अगाडि बढायौं ।

बिचपानीदेखि लगातार पाँच घण्टा हिंडेपछि एउटा फाँटमा पुगियो । यहींनेरबाट खप्तड शुरू हुन्छ । फाँटमा पुगेपछि हामीले केही क्षण विश्राम ग¥यौं । अगाडि हिंड्ने साथीहरू खप्तड  पुगिसकेका रहेछन् । हामी पनि उनीहरूको पदचाप पछ्याउन थाल्यौं । एक घण्टा जति हिंडेपछि गन्तव्य भेटियो ।

हाम्रो आजको गन्तव्य यहींसम्म थियो । खप्तड राष्ट्रिय निकुञ्जसँगै रहेको नेपाल आर्मीको गण नजिकै हामीले बसोबासको मेलोमेसो मिलायौं । हुन त त्यहाँ खानपान र बसोबासको लागि होटल पनि रहेछ । तर, यसपालि हामीले भने टेन्टमै रात गुजार्ने निधो गर्यौं ।

अमर बहादुर शाही
प्रबन्ध निर्देशक, रैका टाभल्स एण्ड टुर

कोरोना महामारीले शिथिल बनेको पश्चिम नेपालको पर्यटनलाई पुनः चलायमान बनाउन हामीले टुर प्याकेज ल्याएका छौं । हामीले अहिले वाइल्ड वेस्टअन्तर्गत रारा, बर्दिया, शुक्लाफाँटा र खप्तडको प्याकेज बनाएका हौं ।

यी भेगमा अपेक्षाकृत पर्यटकहरू पुग्न नसकेका कारण पनि हामीले त्यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने योजना बनायौं । यस भेगमा पर्यटनमैत्री पूर्वाधार विकास गर्नेदेखि आवश्यक प्रचारप्रसार गर्नेसम्म तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment