१५ कात्तिक, बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा आज एक पुरुषको शंकास्पद मृत्यु भएको छ ।
बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा एक महिलासहित पुगेका बुटवल –६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, होटलमा आज दिउँसो दुई बच्चासहित पुगेका उनीहरूले होटलको दोस्रो र तेस्रो तलामा दुईवटा रुम बुकिङ गरेका थिए । उनीहरूले कोठामा नै खाजा मगाएर खाएका र क्षेत्री बेहोस भएको भन्दै उनीसँगै गाएकी महिलाले सञ्चालकलाई जानकारी गराएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भनेका छन् ।
क्षेत्रीलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । बाहिरी चोटपटक केही नभएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले बताए ।
दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ती पुरुष होटलमा बसेको खुलेको रानाले बताए । बाहिरी चोटपटक नभएकाले मृत्युको कारण खुल्न नसकेको उनले बताए ।
‘माथिल्लो तलाको कोठामासँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरू तल्लो तलाको कोठामा बसेको खुलेको छ,’ डीएसपी रानाले भने ।
होटलका सञ्चालक शेरबहादुर रेस्मीले पाहुना आएपछि परिचय मागेर कोठा दिएको तर मृत्युको कारण थाहा नभएको बताए ।
प्रतिक्रिया 4