+
+
Shares

पूर्वाधार विकासले बदलिंदै बुटवल, बन्दै छ देशकै प्रमुख ‘माइस टुरिजम हब’

अर्ब बढी लागतका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रदेखि सहरमै दुईवटा केबलकार सञ्चालनमा आएपछि बुटवलको परिचय बदलिँदै छ । ‘ट्रान्जिट’ सहरको पहिचान बनाएको बुटवल अब ठूला सभा-सम्मेलन र प्रदर्शनीको केन्द्र अर्थात् ‘माइस टुरिजम हब’ बन्ने बाटोमा छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ वैशाख २७ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा एक अर्ब ११ करोडमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र करिब एक अर्बको प्रदर्शनी केन्द्रले बुटवललाई माइस टुरिजम हब बनाउन ठूलो सम्भावना देखिएको छ।
  • बुटवलमा दुई केबलकार, मणिमुकुन्द सेन उद्यान, जितगढी, हिलपार्क र शङ्करनगर वन विहारले माइस टुरिजमका लागि बलियो आधार तयार पारेका छन्।
  • पर्यटनमन्त्री न्यौपानेले यी पूर्वाधारले बुटवललाई माइस टुरिजमको प्रमुख गन्तव्य र लुम्बिनी प्रदेशको पर्यटन र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने बताए।

२७ वैशाख, बुटवल । बुटवलमा बनेका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र दुईवटा केबलकारजस्ता ठूला पर्यटकीय पूर्वाधारका कारण बुटवल ‘माइस टुरिजम हब’ का रूपमा विकास हुने ठूलो सम्भावना देखिएको छ ।

एक अर्ब ११ करोड रुपैयाँ लागतमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र करिब एक अर्ब लागतको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बुटवलको पर्यटनलाई गुल्जार बनाउने रूपान्तरणकारी पूर्वाधार हुन् ।

बुटवल सम्मेलन केन्द्र काठमाडौँबाहिरको पहिलो अन्तर्राष्ट्रिय स्तरको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल छन् ।

सबै हलमा गरेर एक पटकमा २७ सय जना बस्न मिल्ने क्षमताका संरचनाहरू छन् । सम्मेलन केन्द्रसँगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रसमेत निर्माणको अन्तिम चरणमा छ । यो नेपालमा सरकारी स्तरको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र हो ।

प्रदर्शनी केन्द्रमा १२ हजार वर्गमिटरको एउटा ठूलो हल छ । दुईवटा बैठक कक्ष, प्रशासनिक भवन र क्यान्टिन पनि बनाइएको छ । बैठक हल एउटा साढे तीन सय वर्गमिटरको र अर्को साढे दुई सय वर्गमिटरको छ ।

हलमा एक पटकमा १० हजार जनाले प्रदर्शनी अवलोकन गर्न सक्नेछन् । एक पटकमा दुई हजार जनाले खाजा खान सक्नेगरी ‘फुड कोर्ट’ बनेको छ । एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान बन्दै छ । चार सयवटा चारपाङ्ग्रे गाडी र त्यति नै मोटरसाइकल अटाउने पार्किङस्थल पनि छ । यी दुई पूर्वाधारले सिङ्गो बुटवललाई ‘माइस टुरिजम’ को केन्द्रका रूपमा विकास गर्नेछन् ।

यी दुई ठूला पूर्वाधारबाहेक बुटवलमा लुम्बिनी र सिद्धार्थ गरी दुई केबलकार पनि माइस टुरिजमका लागि नौला पर्यटकीय गन्तव्य बनेका छन् । नेपालमै एउटै सहरमा दुई केबलकार भएको बुटवल मात्र हो ।

यस्तै बुटवलका मणिमुकुन्द सेन उद्यान, जितगढी, हिलपार्क तथा एक दिनमा ५० हजारभन्दा बढी पर्यटक घुम्न सक्ने तिलोत्तमाको शङ्करनगर वन विहार पनि माइस टुरिजमका लागि बलियो आधार बनेका छन् ।

प्रदर्शनी केन्द्र

अन्तर्राष्ट्रिय सभाहल र सम्मेलन केन्द्र दुवैलाई मिल्नेगरी पार्किङस्थल र प्रवेशद्वार बनेका छन् । सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र बनेसँगै सानादेखि ठूला सम्मेलन र सेमिनारहरू तथा व्यापार मेला महोत्सव र औद्योगिक प्रदर्शनीहरू निरन्तर गर्न सकिने अवसर सिर्जना भएको छ ।

राजमार्गसँगै जोडिएको र बुटवलजस्तो ठूलो जनघनत्व भएको सहरमा बनेका यी दुई पूर्वाधारले बुटवललाई माइस टुरिजमको केन्द्र बनाउन सक्ने प्रचुर सम्भावना रहेको यी दुवै आयोजनाका परिकल्पनाकार एवम् कार्यान्वयनमा ल्याउन अगुवाइ गरेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल बताउँछन् ।

‘बुटवल नेपालको मध्यभागमा, हिमाल-पहाडको सङ्गम, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसँग नजिक भएकाले पर्यटकीय विश्रामस्थल बन्न सक्ने देखेर नै अन्तर्राष्ट्रिय सभाहल र सम्मेलन केन्द्र बनाइएको हो,’ पौडेलले भने, ‘अब अहिलेको सरकारले यी दुवै पूर्वाधार वर्षभरि नियमित सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ ।’

के हो माइस टुरिजम ?

माइस टुरिजम भनेको विभिन्न संस्था, कम्पनी वा सरकारद्वारा आयोजना गरिने बैठक, विभिन्न उद्देश्यले गरिने भ्रमण, सम्मेलन तथा प्रदर्शनी गरी चार अङ्ग्रेजी शब्दको सामूहिक सङ्क्षिप्त रूप हो ।

मिटिङको ‘एम’, इन्सेन्टिभ्सको ‘आई’, कन्फेरेन्सको ‘सी’ र एक्जिबिसनको ‘ई’ अक्षरहरूलाई जोडेर ‘MICE’ शब्द बनाइएको हो ।

नेपालमा माइस टुरिजमको त्यति धेरै बहस र चर्चा हुन नसकेको स्वयं पर्यटन व्यवसायीहरू बताउँछन् । काठमाडौँबाहिर यति ठूलो र पर्याप्त पार्किङ सुविधासहितको व्यवस्थित सम्मेलन केन्द्र, प्रदर्शनी केन्द्र र दुईवटा केबलकार अरू प्रदेशमा नरहेकाले बुटवल माइस टुरिजमको हबका रूपमा विकास हुन थालेको नेप्लिज होटेलियर्स एसोसिएसन लुम्बिनीका उपाध्यक्ष दिलीप गौचन बताउँछन् ।

‘बैठक, भ्रमण, सम्मेलन तथा प्रदर्शनी नियमित हुने वातावरण बनाउने हो भने यी कार्यक्रममा सहभागी हुन देश-विदेशबाट आउने व्यक्ति तथा पर्यटकहरूको विशाल जमघटले बुटवललाई माइस टुरिजमको हब बनाउने प्रचुर सम्भावना छ,’ गौचनले भने, ‘अन्तर्राष्ट्रिय सभाहल र सम्मेलन केन्द्र त बने तर सरकारले यी दुवै संरचना नियमित चल्नेगरी सहज कार्यविधि बनाउनुपर्छ ।’

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

सकभर यी संरचना प्रतिस्पर्धाको माध्यमबाट निजी क्षेत्रलाई दिएमा दिगो सञ्चालन हुने र बुटवल पर्यटकीय हिसाबले गुल्जार हुने आशा पर्यटन व्यवसायीले गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरका सम्मेलन, गोष्ठी, व्यापार मेला र प्रदर्शनी आयोजना गर्न सकिने भएकाले बुटवल बैठक, सम्मेलन र प्रदर्शनीको प्रमुख गन्तव्य बन्न सक्ने होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष माधवकुमार खनालको भनाइ छ ।

‘सरकारी निकायले सभाहल र प्रदर्शनी स्थल नियमित चल्ने वातावरण बनाउने हो भने यहाँ ठूला कार्यक्रम हुन थालेपछि पर्यटक र आगन्तुकको सङ्ख्या बढ्छ । माइस टुरिस्टहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्ने हुन्छन्,’ अध्यक्ष खनालले भने ।

उनले थपे, ‘होटल, रेस्टुरेन्ट, यातायात, मनोरञ्जनलगायत क्षेत्रमा आम्दानी बढ्छ । पर्यटक बढेपछि नयाँ होटल, रिसोर्ट, क्याटरिङ, इभेन्ट म्यानेजमेन्ट, ट्राभल एजेन्सीजस्ता व्यवसाय थप विस्तार हुन्छन्, जसले निजी लगानी आकर्षित गर्छ ।’

माइस टुरिजमको विकासले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा होटल, यातायात, टुर गाइड, प्राविधिक सेवा, सुरक्षालगायत क्षेत्रमा सयौँ-हजारौँ रोजगारी सिर्जना हुने उनले बताए ।

बुटवललाई आधार बनाएर पर्यटकहरू लुम्बिनी, पोखरा, पाल्पा, गुल्मीजस्ता गन्तव्यमा पनि जाने भएकाले समग्र क्षेत्रको पर्यटन चलायमान हुने उद्योग व्यापार सङ्घ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले बताए । प्रदर्शनी केन्द्रमा औद्योगिक मेला, व्यापार एक्स्पो आयोजना हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित हुने र यसले बुटवललाई व्यापारिक हबका रूपमा स्थापित गर्न मद्दत गर्ने उनको बुझाइ छ ।

माइस टुरिजमले अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना हुन थालेपछि बुटवल सहरको ब्रान्डिङ र अन्तर्राष्ट्रिय पहिचान वृद्धि हुने र त्यसले दीर्घकालीन रूपमा पर्यटन र लगानी दुवै बढाउने नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य हरि अर्यालको ठम्याइ छ ।

‘मेला, सम्मेलन र भ्रमण कार्यक्रमहरू वर्षभरि भइरहने अवस्था आउँदा स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउँछ,’ अर्यालले भने, ‘ठूला कार्यक्रमले सडक, यातायात, सरसफाइ, सुरक्षा, डिजिटल सेवाजस्ता पूर्वाधार सुधार गर्न उपमहानगरलाई पनि दबाब सिर्जना गर्छ, जसले बुटवल सहरको समग्र विकासलाई गति दिन्छ ।’

यी दुई ठूला पूर्वाधार प्रभावकारी रूपमा सञ्चालन र प्रवर्द्धन गर्न सकिएमा बुटवल केवल ‘ट्रान्जिट’ सहर नभई माइस टुरिजमको प्रमुख गन्तव्य बन्न सक्ने र समग्र लुम्बिनी प्रदेशकै पर्यटन र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना रहेको लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?