+
+
Shares

बुटवलका भूमिहीनको प्रश्न : हाम्रो भोट र कर वैध, वस्ती कसरी अवैध ?

भूमिहीन/अव्यवस्थित बसोबासीले भने– हामी बसेको जमिन अवैध हो भने बालेन सरकार पनि अवैध हो । डोजर आतंक बन्द नगरे सरकारको दिनगन्ती सुरु हुन्छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ वैशाख २४ गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भूमिहीन तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले डोजर आतंक बन्द नगरे देशभर सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ।
  • संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकले डोजर आतंक बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका छन्।
  • रुपन्देहीमा ७९ हजार २६१ जना सुकुमवासी र अव्यवस्थित बसोबासी छन् र डोजर आएमा डेढ लाख मानिस सडकमा उत्रिने छन्।

२४ वैशाख, बुटवल । रुपन्देहीका भूमिहीन/अव्यवस्थित बसोबासी अगुवाहरूले डोजर आतंक बन्द नगरे देशभर सशक्त प्रतिरोध गर्ने  चेतावनी दिएका छन् ।

नेपाल भूमिहीन तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले बिहीबार बुटवलमा गरेको प्रदर्शनपछि भएको सभामा उनीहरूले बिना विकल्प बस्तीहरू खाली गर्ने कार्य तत्काल रोक्न माग गरे ।

सभामा बोल्दै संघर्ष समितिका सल्लाहकार एवं नेकपा माओवादी रुपन्देही सचिव वीरेन्द्र विकले सुशासन र लालपुर्जा पाउने आशामा मतदान गरेका नागरिकले अहिले डोजर आतंक भोग्नुपरेको गुनासो गरे । उनले डोजर आतंक बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।

‘वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकका बस्तीलाई अवैध भन्दै उठिबास लगाउन खोजिए सशक्त प्रतिरोध हुनेछ,’ उनले प्रश्न गरे, ‘भूमिहीन र अव्यवस्थित बसोबासीको मत र कर वैध, तिनै नागरिक बसेको जमिन कसरी अवैध हुन्छ ?’

विकले आफूहरू बसेको जमिन अवैध हो भने बालेन सरकार पनि अवैध हुने भन्दै बुटवलबाट सरकारविरुद्ध प्रतिरोधको आँधी ल्याउने चेतावनी दिए ।

‘बुटवल अंग्रेज फौजलाई हराएको ऐतिहासिक ठाउँ हो । डोजर आतंक नरोके यहाँबाटै सरकारको दिनगन्ती सुरु हुनेछ,’ विकले चेतावनी दिए, ‘रुपन्देहीमा मात्र ७९ हजार २६१ जना सुकुमवासी र अव्यवस्थित बसोबासी छन् । उनीहरूको कुनै पनि बस्तीमा डोजर आएमा डेढ लाख मानिस सडकमा उत्रिने छन् ।’

१९७९ सालअघि देशका सबै जग्गा सरकारी रहेको उल्लेख गर्दै विकले प्रधानमन्त्री बालेनका पिताले पनि राजा महेन्द्रको पालामा हुकुम प्रमाङ्गीका आधारमा बिघौं बिघा जग्गा प्राप्त गरेको बताए । उनले एउटै देशका नेपालीलाई दुईथरी नागरिकको जस्तो व्यवहार नगर्न चेतावनीसमेत दिए ।

‘बालेनका बुबालाई पनि राजा महेन्द्रले नै जग्गा दिएका हुन् । यो देशको सबै जग्गा राज्यकै हो,’ विकले भने, ‘एउटै देशमा एउटै नेपालीलाई दुईथरी व्यवहार गर्न पाइँदैन । कि त राज्यले सबै जग्गा आफ्नो नाममा राखेर जनतालाई समान रूपमा चलाउन दिनुपर्छ ।’

विकले कुनै पनि भूूमिहीन र अव्यवस्थित बसोबासीको घरमा डोजर चले जनप्रतिनिधिका घर घेर्ने चेतावनी दिए । ‘कुनै पनि बस्तीमा डोजर चलाइयो भने देशभरका सुकुमवासी एकजुट भई सम्बन्धित नगरपालिकाका मेयर र जनप्रतिनिधिहरूको घर घेर्ने र भौतिक क्षति पुर्‍याउन सक्ने छन्,’ उनले चेतावनी दिए, ‘हामी डराएका छैनौँ । बस्ती उजाडेको टुलुटुलु हेरेर बस्दैनौँ ।’

विकले भोलि नै पालिकाहरूलाई ज्ञापनपत्र बुझाउने र माग पूरा नभए देशभरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई रुपन्देहीमा जम्मा गरी सशक्त आन्दोलनको घोषणा गर्ने बताए ।

निर्वाचनका बेला सुकुमवासी वस्तीमा डोजर चले छाती थाप्न आउँछु भनेका रास्वपा सभापति रवि लामिछानेलाई कटाक्ष गर्दै विकले त्यसरी मत मागेका नेताहरू अहिले गरिबको बस्तीमा डोजर लगाउन उद्यत रहेको बताए । ‘कोठाभित्र बसेर कमेन्ट हानेको भरमा हामी डराउँदैनौँ, हामी फिल्डमै उत्रिन्छौँ,’ उनले भने ।

संविधानको धारा १६ देखि २२ सम्मका प्रावधान र भूमि ऐन २०७८ ले एक पटकका लागि बसेको ठाउँको लालपुर्जा दिने व्यवस्था गरेको उल्लेख गर्दै विकले भूमि समस्या समाधान आयोगले लालपुर्जा दिने निर्णय गरिसक्दा पनि आयोगका कर्मचारीहरूले सूचना जारी नगरेकोमा आपत्ति जनाए ।

विकले स्थानीय तहका जनप्रतिनिधि र वन कार्यालयका प्रमुखहरूलाई सुकुमवासी र अव्यवस्थित बस्ती हटाउने सूचना तत्काल रोक्न माग गर्दै जबरजस्ती हटाउन खोजे प्रतिरोध हुने चेतावनी दिए । ‘वर्षौंदेखि बसेको र राज्यले खानेपानी, विद्युत, सडक जस्ता सुविधा दिएको र जनताबाट कर लिइरहेको हुनाले आफ्नै थातथलोमा लालपुर्जा पाउनु नैसर्गिक अधिकार हो, यसमा दायाँबायाँ गर्न पाइँदैन,’ विकले भने ।

अर्का वक्ता वीरमान लामाले सुकुमवासी र अव्यवस्थित बसोबासीमाथि ज्यादती गरेकाले यो सरकारलाई घुँडा टेकाउनुपर्ने बताए । सरकारको ज्यादतीले लाखौं नागरिक रातमा सुत्न नसकेर आतंकित बनेको उनको भनाइ थियो ।

राजु शाहीले बालेन सरकारले ५० वर्षदेखि बसोबास गरेका नागरिकका घर, मठ, मन्दिर, गुम्बामा डोजर चलाएर मानवता, धर्म संस्कृतिविरोधी काम गरेको भन्दै रुपन्देहीमा डोजर चलाए प्रतिकार हुने चेतावनी दिए ।

सुकुमवासी र अव्यवस्थित बसोबासीमाथि गरेको अत्याचारका कारण आगामी निर्वाचनमा रास्वपाको कन्तबिजोग हुने उनले तर्क गरे ।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले विगतका सरकारले गरेको काम र तोकेको मापदण्डलाई आधार बनाएर अहिलेको सरकारले सुकुमवासी र अव्यवस्थितलाई न्यायोचित व्यवस्थापन र लालपुर्जा दिन माग गरे ।

रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित गरी ८० हजार बढीले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए ।

विघटित आयोगका रुपन्देही अध्यक्ष कुमार थापा मगरका अनुसार रुपन्देहीमा करिब एक लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी रहेका छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?