Comments Add Comment

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको सहज जित

काठमाडौं । रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बार्यन म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिए पनि बार्यनले स्टुटगार्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्यनलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गर्दा सर्जी नाब्रीले एक गोल गरे ।

खेलको १२औं मिनेटमा अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बार्यन १० खेलाडीमा समेटिएको थियो ।

तर बार्यन एक खेलाडी कम हुँदा पनि चार गोल गर्‍यो । खेलको १८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाए ।

नाब्रीले खेलको २२औं मिनेटमा गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे।

२३औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए । त्यसपछि ३९औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बार्यनलाई पहिलो हाफमै ४-० को अग्रता दिलाए ।

दोस्रो हाफमा थप गोल भएन र बार्यनले सहज जित हात पारेको हो ।

जितपछि २६ खेलमा ६१ अंक जोड्दै बार्यन शीर्ष स्थानमा यथावत छ । स्टुटगार्ड ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

बुन्डेसलिगाकै अर्को खेलमा बोरुसिया डर्टमण्ड भने एफसी कोल्नसँग २-२ गोलको बराबरीमा रोकिएको छ । एर्लिन हालान्डले दुई गोल गरेपनि डर्टमण्डले खेल जित्न सकेन।
खेलको तेस्रो मिनेटमै हालान्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा डर्टमण्डका ओेन्द्रेज डुडाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

६५औं मिनेटमा इस्माइल ज्याकोब्सले गोल गर्दै कोल्नलाई २-१ को अग्रता दिलाए । तर ९०औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डको हार टारे ।

बराबरीपछि २६ खेलबाट ४३ अंकसहित डर्टमण्ड पाँचौँ स्थानमा छ । समान खेलबाट २३ अंकसहित कोल्न १४औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment