Comments Add Comment

अष्ट्रेलियाको बाढी प्रभावित क्षेत्रमा प्राकृतिक विपत घोषणा

बाढीले डुबेको नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट ।

सिड्नी / अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी बर्षा पछी आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् ।

यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् ।

बिहीबारयता यहाका नदीहरुमा वर्षाको पानी भरिँदा आसपासका बस्तीहरु प्रभावित भएका छन् । केही दिनदेखिको अविरल वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न छन् ।

संघीय र राज्य सरकारले उत्तरी न्यु साउथ वेल्सका कोफ्स हार्बरदेखि ग्राफ्तन र सेसनक तथा दंग्गाग क्षेत्रसम्म प्राकृतिक विपत विस्तार भएको जनाएका छन् ।

राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् । यहाँको जलवायु विभाग, प्रहरी र आपतकालीन सेवाका संयन्त्रहरु उच्च सतर्कताका साथ परिचालन भएका छन् ।

प्रमुख राजमार्ग तथा सडकहरु बन्द भएका वा हुनसक्ने भएकाले ती इलाकामा तय गरिएका सबै भ्रमण रद्द गर्न आफ्ना नागरिकहरुलाई सुझाव दिइएको छ ।

अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको पोर्ट मक्वारी क्षेत्रमा भौतिक संरचनाहरुमा ठूलो नोक्सानी भएको छ तर आपत्कालीन सेवाको उच्च सतर्कता र तत्काल उद्धार कार्यले कही पनि मानवीय क्षति भएको छैन ।

सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा शनिबार पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि उक्त बाँध आसपासका बस्तीहरुलाई शनिबार रातिदेखि आइतबार बिहानसम्म सतर्क पारिएको छ ।

यहाँको हक्सबरी नदीमा बाढीको उच्च बहाव छ भने सिड्नीको पहाडी इलाकाका खोला र छहराहरु उर्लेका छन् । पश्चिम सिड्नीको पारामाटा र पश्चिमी भित्री सहर म्यारिकभिलमा सडक जलमग्न हुँदा यातायात प्रभावित भएको थियो । न्यु साउथ वेल्समा अझै केही दिन भारी वर्षा हुने पूर्वानुमान यहाँको जलवायु विभागले गरेको छ।

आइतबार बिहानैदेखि यहाको पिक्टन इलाकामा आपतकालीन सूचनाका लागि सतर्क गरिएको छ र खतरा आइपुग्नु अघिनै बस्ती खाली गरिने बताइएको छ ।

शनिबार नै न्यु साउथ वेल्सकी प्रिमियर ग्ल्यादी बेजेरिक्लिनले जनताको जीउ धनको सुरक्षा गर्न राज्य सरकार र निकायहरु अहोरात्र खट्ने बताएकी थिइन् ।

अहिले न्यु साउथ वेल्सभर करिब ५० हजार आपतकालीन उद्धारकर्ताहरु खटेका छन् । छिमेकी कुइन्स्ल्यान्ड राज्यकी प्रिमियर अनेस्तासिया पलास्जुकले न्यु साउथ वेल्समा उद्धारका लागि राज्य आपत्काल सेवाका डुंगा हरु र स्वयमसेवक पठाइने बताएकी छिन् ।

नेपालीहरु प्रभावित

गत बिहीबारदेखि भारी वर्षा हुन थालेपछि न्यु साउथ वेल्सका वर्षा र बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय र बसोबास गर्ने नेपालीहरु पनि प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित पोर्ट मक्वारीमा बस्ने नेपाली भएका छन् । तीमध्ये एक हुन् झापाका प्रविन चौहान ।

शनिबारदेखि टारी स्थित स्थानीय उद्धार केन्द्रमा सुरक्षित् बसिरहेका प्रविन चौहान पोर्ट मक्वारीमा रेस्टुरेन्ट संचालन गरिरहेका नेपाली हुन् । एकै स्थानमा दुईवटा रेस्टुरेन्ट संचालन गरेर दर्जन बढी नेपालीलाई रोजगारीसमेत दिइरहेका उनी आफैं शुक्रबारको बाढीले पोर्टमक्वारी क्षेत्र प्रभावित भएकाले सुरक्षित उद्धार केन्द्रमा बसेका छन् ।

अनलाइनखबर अस्ट्रेलियासँग टेलिफोन सम्पर्कमा आएका चौहानले भने- अहिले म व्यक्तिगत उद्धार केन्द्रमा सुरक्षित् छु तर व्यवसाय के भयो थाहा छैन ।

उनका अनुसार अहिले उनको परिवारका सदस्यहरुबीच भेट हुन सकेको छैन । वर्षाले यातायात, विद्युत र टेलिफोन बन्द भएकाले अझै तीन दिन सम्पर्क हुन कठिन हुने उनको अनुमान छ ।

प्रविनले भने – म टारीमा छु, छोरी ग्लोस्तरमा छिन् र श्रीमती माउन्ट जर्जमा छिन् । छोरीसँग टेलिफोन सम्पर्क भए पनि श्रीमतीसँग आइतबार मध्याह्नसम्म सहयोगीमार्फत फोन सम्पर्क हुने अपेक्षा गरेको छु ।

उनले वागावागामा अध्ययन गरिरहेको आफ्नो छोरासहित अस्ट्रेलिया र नेपालमा भएका आफन्तहरुलाई आफ्नो बारेमा चिन्ता नलिन अनुरोध गरेका छन् । ‘स्थिति सामान्य हुन केही दिन लाग्ला तर यहाको आपतकालीन उद्धार सेवा भरपर्दो छ, कुनै चिन्ता लिनु पर्दैन,’ प्रविनले भने ।

पोर्ट मक्वारीमै रहेकी रामेछापकि जमुना चौलागाईले आफूहरु लगायत आसपासका ३० परिवार नेपाली वर्षा र बाढीबाट सुरक्षित् रहेको बताएकी छिन् ।

नेपाली दूतावासले भन्यो : सतर्क रहनुस सुरक्षित् रहनुस

न्यु साउथ वेल्सका वर्षा र बाढी प्रभावित इलाकाहरु रिजनल इलाका भएका र त्यहाँ हाल सयौँको संख्यामा नेपालीहरु बसाइ सरेकाले नेपाली दूतावास क्यानबेराले नेपालीहरुको अवस्थाबारे तत्काल चासो दिएको छ ।

हाल सबैभन्दा बढी प्रभावित पोर्टमक्वारी क्षेत्रका नेपालीलाई टेलिफोन गरी नेपाली दूतावास क्यानबेराकी उपनियोग प्रमुख दुरापदा सापकोटाले अवस्था बुझेकी छिन् ।

‘नेपाली दूतावास नेपालीहरुको सुरक्षामा चिन्तित छ । हामी समस्यामा पर्नुभएकाहरुलाई नेपाली दूतावास र महाबाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गर्दछौं,’ उनले भनिन्, ‘वर्षा र बाढीबाट सुरक्षित रहन र तत्काल समस्या भएमा नजिक भएका अस्ट्रेलियाका सरकारी निकायसँग सम्पर्कमा जान सुझाव दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment