Comments Add Comment

नर्वेकी प्रधानमन्त्रीले जनतासामु मागिन् माफी

थप अनुसन्धान गर्दै प्रहरी

८ चैत, नर्वे । कोभिड–१९ नियन्त्रणका लागि आफ्नै सरकारले जारी गरेका नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले माफी मागेकी छिन् । गत फेब्रुअरी २५ का दिन उनी ६०औं जन्मदिन मनाउन परिवारसहित नर्वेको राजधानी ओस्लो बाहिरको होल नगरपालिका पुगेकी थिइन् । उक्त नगरपालिका र केन्द्रले कोरोना नियन्त्रणको लागि निजी भेटघाट तथा गतिविधिमा १० जनाभन्दा बढी भेला हुन नपाउने नियम जारी गरेको छ ।

प्रधानमन्त्री सोल्वेग १४ जना पारिवारिक सदस्यसहित दुई दिनको लागि कोल नगरपालिकाको एक रेस्टुरेन्टमा पुगेकी थिइन् । व्यक्तिगत गतिविधिको लागि १४ जना जम्मा हुनुले सरकारबाट जारी गरिएकै नियमको सरकार प्रमुखले नै उल्लंघन गरेको थाहा पाएर नर्वेको सरकारी सञ्चारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो ।

रिपोर्ट सार्वजनिक भएपश्चात् एनआरकेसँग कुराकानी गर्दै उनले आफूबाट गल्ती भएको भनेर माफी मागेकी छिन् । ‘म प्रत्येक दिन कोरोना संक्रमणको लागि काम गर्ने तथा नियम बनाउने गर्दछु’ उनले एनआरकेसँग कुराकानी गर्दै भनेकी छिन्, ‘यस अर्थमा पनि मैले नियम राम्रोसँग थाहा पाएर कार्यान्वयन गर्नुपर्ने हो । तर, मैले नियमहरूको राम्रोसँग याद नगर्दा गल्ती हुनगयो । म माफी चाहन्छु ।’

राम्रोसँग नियमको अध्ययन नगर्दा आफूबाट गल्ती हुन गएको उनको भनाइ छ । नर्वेका नागरिकले नियमको पूर्ण पालना गरेको र आफूबाट उल्लंघन भएको हुँदा नागरिक रिसाएको भन्दै उनले आफूबाट भएको गल्तीको नागरिकसरह नै कानूनी कारबाही भोग्न समेत तयार रहेको बताएकी छिन् ।

नियम उल्लंघन गरेपछि कतिपय नागरिकले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् । प्रधानमन्त्री सोल्वेग आफूसहित १४ पारिवारिक सदस्य लिएर २५ फेब्रुअरी शुक्रबार अपरान्ह रेस्टुरेन्ट पुगेकी थिइन् । यद्यपि, सोही समयमा उनको आँखामा समस्या देखिएपछि उनी भने उपचारको लागि तुरुन्तै ओस्लो फर्किन् । उनको परिवारका सदस्य भने शनिबार अपरान्हसम्मै सोही ठाउँमा बसेको एनआरकेले रिपोर्टमा जनाएको छ ।

समाचारमा आएको विषय र प्रधानमन्त्रीले गरेको स्वीकारोक्ति पछि प्रहरीले थप अध्ययन गर्न थालेको छ । प्रहरीले पे्रस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संचारमाध्यममा आएको सूचना र प्रधानमन्त्री आफैंले दिएको बयानका आधारमा संक्रमण नियन्त्रण सम्बन्धी नियमको उल्लंघन भएको देखिन्छ ।’

के कस्ता स्थानीय र केन्द्रीय नियम उल्लंघन भएका छन् भनेर स्पष्ट हुन प्रहरीले थप अध्ययन थालेको विज्ञप्तिमा उल्लेख रहेको एनआरकेले समाचार प्रकाशन गरेको छ । अनुसन्धानको लागि कति समय लाग्ने यकिन नभए पनि प्रहरीले चाँडो अनुसन्धान सक्ने प्रतिबद्धता जनाएको छ ।

अनुसन्धान पछि के कस्ता गतिविधि गरिएको थियो सोही अनुसार कारबाही हुने जनाइएको छ । सामान्यतः व्यक्तिगत गतिविधिको लागि भेटघाट गर्दा आयोजकले बीस हजार र सहभागीले १० हजार क्रोनर जरिवाना लाग्ने नियम छ ।

नर्वेमा कोरोना संक्रमणको दर बढ्दै गएपछि दोस्रो पटक नोभेम्बरबाट नियन्त्रणका मापदण्डहरू लागू गरिएको छ । खोप कार्यक्रम पनि निरन्तर छ । तथापि, कोरोना संक्रमण बढ्दो दरमै छ । मानिसको चहलपहल हुने ठाउँहरू अहिलेसम्म पनि बन्द छन् । यद्यपि, यहाँका किन्डरगार्टेनहरू भने खुला छन् ।

नर्वेमा हालसम्म ८५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने संक्रमणबाट ६४८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment