Comments Add Comment

फेसन डिजाइनिङको कोर्स : के सिकाइन्छ ?

तस्वीर : आइआइएफटी नेपालबाट

पहिले पहिले एउटै पहिरनले दर्जनौं पार्टीमा सहभागिता जनाउने फेसनका पारखीहरुलाई अहिले सामाजिक सञ्जालले खर्चालु बनाइदिएको छ । एउटा पहिरन सेटलाई एउटा पार्टीमा प्रयोग गरेर तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अर्काे पार्टीको लागि अर्कै सेट चाहियो । यो चलनले फेसन डिजाइन क्षेत्रको स्कोप बढ्दै गएको देखाएको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् ।

फेसन भन्नासाथै सुन्दर र चिटिक्क देखिने गरी लगाउने पोशाकलाई बुझिन्छ । कुनै व्यक्तिलाई उसको शरीर सुहाउँदो पोसाकको परिकल्पना गरेर सुन्दर बनाउने कला नै फेसन डिजाइन हो । फेसन डिजाइन आफैँमा पहिरनको मात्रै डिजाइन होइन । यो त ग्राफिक्स डिजाइनदेखि हेयर डिजाइनिङ, मेकअप, फोटोग्राफी, मोडलिङ, कोरियोग्राफी, र्याचम्प वाकिङ लगायत विषयहरू समेत समेटेको एउटा समृद्ध क्षेत्र पनि हो ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीका (स्कुल अफ फेसन)का प्रवन्ध निर्देशक तेन्जिङ शेर्पा पछिल्लो समय फेसन डिजाइन क्षेत्रमा स्कोप बढेसँगै यसप्रतिको आकर्षण पनि बढेको बताउँछन् । उनी मान्छेको पहिरनप्रतिको सोचाइ पछिल्लो समय विस्तार भएसँगै यसको स्कोप बढ्दै गएको बताउँछन् ।

फेसन सिकाउने २ माध्यम

एकातर्फ चारवर्षे स्नातक तहमा अध्ययन गरेर मान्छे फेसन डिजाइनर बन्न सक्छ भने अर्काेतर्फ अनौपचारिक किसिमको डिप्लोमा कोर्स गरेर पनि फेसन डिजाइनर बन्न सकिन्छ । औपचारिक स्नातक तहको कक्षा अहिले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर नमुना कलेज अफ फेसन टेक्नोलोजीले अध्यापन गराउँदै आएको छ भने अनौपचारिक तर्फ भने विभिन्न कलेजहरू स्थापना भएका छन् । जसले १३ महिनामा नै यो कोर्स पूरा गर्ने गर्छन् । यो कोर्स सम्पन्न भएपछि विद्यार्थीलाई पूर्ण रूपमा फेसन डिजाइनको लागि सक्षम बनाइने शेर्पा बताउँछन् ।

उनका अनुसार चार वर्षे स्नातक कक्षा र १३ महिले डिप्लोमा कोर्समा एउटै खाले सिकाइ हुन्छ । त्यसैले स्नातक उत्तीर्ण भएको सर्टिफिकेटको आवश्यकता महसुस नगर्नेहरूले चारवर्षे स्नातक कक्षामा जति ज्ञान डिप्लोमा तहमा पनि पाउन सक्ने शर्पा बताउँछन् ।

कति हुनुपर्छ योग्यता ?
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीका प्रवन्ध निर्देशक शेर्पाका अनुसार चार वर्षै स्नातक कोर्सको लागि प्लस टु अनिवार्य हुन्छ भने १३ महिने कोर्सको लागि न्युनतम एसएलसी पास गर्नेलाई लिने गरिएको छ । यो पनि कुनै कुरा बुझाउँदा राम्रोसँग बुझ्नेहोस् भन्ने हिसाबले एसएलसी पास राखिएको भए पनि कतिपय फेसन कलेजहरूले आठ कक्षा पास भएकालाई समेत डिप्लोमा कोर्समा भर्ना लिने गरेका छन् ।

शेर्पा विदेशतिरको अवस्थालाई हेर्दा चर्चित फेसन डिजाइनरहरू औपचारिक डिग्री लिएकाहरूभन्दा पनि व्यावहारिक रूपमा डिप्लोमा सकेकाहरू अब्बल देखिएको बताउँछन् । अनौपचारिक रूपमा अध्ययन गर्नेहरूले १३ महिनाको अध्ययनको लागि १ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने शुल्क तोकिएको शेर्पा बताउँछन् । शेर्पा पहिलेभन्दा अहिले माग पनि बढ्दै गएको बताउँछन् ।

नेपालमा झण्डै दुई दशक अघिदेखि ‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’ ले फेसन डिजाइनिङको कोर्स गर्दै आएको पाइन्छ । सन् १९७० को दशकमा विदेशमा फेसन डिजाइनिङ कोर्स पूरा गरेर काठमाडौं फर्किएकी ग्यानी शोभा तुलाधरले पहिलो पटक फेसन डिजाइन सिकाउने कलेजको अवधारणा ल्याएकी थिइन् ।

सुरुमा उनले ‘नमुना सिलाई’ स्थापना गरेर सर्वसाधारण, चलचित्रका स्टारहरू एवंइ उच्च पदस्थ कूटनीतिज्ञहरू एवं सरकारी अधिकारीहरूलाई समेत विशेष समारोहमा फेसन डिजाइन गर्न थालिन् । पूर्व शाही परिवारका सदस्यहरूको समेत फेसन डिजाइन गर्ने गरेकी थिइन । नमुना कलेज अफ फेसन टेक्नोलोजी ९एनसीएफटी० को सुरुआत भने सन् २००२ बाट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment