Comments Add Comment

अमेरिकी रक्षामन्त्री अफगानिस्तानमा

Photo Credit : REUTERS

९ चैत, काठमाडौं । अमेरिकाका रक्षामन्त्री लोयड औस्टिन विना कुनै घोषणा अफगानिस्तानको भ्रमणमा आइपुगेका छन् । अमेरिकी सेनाले तालिबानसँगको सम्झौताअनुसार अफगानिस्तान छाड्नुपर्ने मिति नजिकिँदै गरेको अवस्थामा अमेरिकी रक्षामन्त्री अफगानिस्तान आइपुगेका हुन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँगको वार्तापछि औस्टिनले युद्धको जम्मेवार तरिकाले अन्त्य हुनुपर्ने बताए । यद्यपि उनले युद्धको अन्त्य कहिले हुन्छ भन्ने खुलाएनन् । उनले हिंसा कम गर्ने र युद्ध अन्त्य गर्ने विषयमा ध्यान केन्द्रित गर्नु जरुरी रहेको बताएका थिए ।

गत वर्ष अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र तालिबानबीच भएको सम्झौताअनुसार अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने सहमति भएको थियो । यद्यपि अमेरिका आफ्नो वाचामा अडिग रहन्छ वा रहँदैन भन्नेमा तालिबानले आशंका व्यक्त गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट १ मेसम्ममा आफ्ना सैनिक फिर्ता बोलाउनु तत्कालका लागि कठिन भएको बताएका छन् । बाइडनको यो अभिव्यक्तिसँगै तालिबानले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अहिले अफगानिस्तानमा २५ सय अमेरिकी सैनिक छन् । सबै अमेरिकी सैनिक फिर्ता गएको अवस्थामा अफगानिस्तानमा हिंसा झन् चर्किने आशंका अमेरिकाले गर्दै आएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment