Comments Add Comment

कर हट्यो, तर पनि घट्यो पुस्तकको आयात

फाइल तस्वीर

९ चैत, काठमाडौं । सरकारले पुस्तकमा लागाएको भन्सार महसुल हटाए पनि पुस्तकको आयात भने घटेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा पुस्तकको आयात ३८ लाख थानभन्दा बढीले घटेको र सोको रकम १७ करोड ८ लाख रुपैयाँ भन्दा धेरै हुने भन्सार विभागले जनाएको छ । तीब्र आलोचना र विरोधपछि गत असोजमा सरकारले पुस्तकमा लगाएको १० प्रतिशत भन्सार महसुल हटाउने निर्णय गरेको थियो ।

चालु आवको फागुनसम्म २२ करोड १८ लाख रुपैयाँ बराबरको २५ लाख ९५ हजार थान मात्रै पुस्तक आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष सोही अवधिमा ३९ करोड २६ लाख रुपैयाँ भन्दा धेरैको ६३ लाख ५७ हजार थान पुस्तक आयात भएको थियो । पुस्तकको आयात घटेसँगै सरकारले संकलन गर्ने महसुलमा पनि गिरावट आएको छ ।

गत वर्ष उक्त परिमाणको पुस्तक आयात हुँदा सरकारलाई ४ करोड ३९ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो भने चालु आवमा ९५ लाख ७२ हजार रुपैयाँ बराबर मात्रै राजश्व संकलन भएको छ । नेपालमा भारत, भियतनाम, बेलायत लगायतका मुलुकबाट विद्यालयदेखि विश्वविद्यलय तहसम्मका पाठ्यपुस्तक आयात हुने गरेको छ । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को दोस्रो बजेटबाट पुस्तक आयातमा १० प्रतिशत अतिरिक्त भन्सार लगाउने निर्णय गरेका थिए । उनको बर्हिगनसँगै अर्थमन्त्रालयको जिम्मेवारीमा आएका बिष्णु प्रसाद पौडेलले भन्सार दर हटाएका थिए ।

किन खस्कियो आयात ?

पुस्तकमा लगाइएको करका कारण ज्ञान नै बन्धक भएको भन्दै पुस्तक प्रेमी तथा पुस्तक बिक्रेताहरुले लामो चरणबद्ध आन्दोलन गरेका थिए । तर व्यवसायीको माग सुनुवाइ भए पनि बजारमा पुस्तकको अभाव भए जसरी आयात भएको भने देखिएको छैन् । कोभिडका कारण शैक्षिक संस्था नचल्दा पुस्तकको आयात घटेको दाबी राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको छ । सबै शैक्षिक संस्था ठप्प हुँदा पुस्तक आयात खस्किएको संघका अध्यक्ष लिखत प्रसाद पाण्डे बताउँछन् । ‘सरकारले करको मुद्दा समाधान गरेको छ, पुस्तक ल्याउन कठिनाइ छैन् ।

‘तर यहाँ पुस्तकको माग पहिले जस्तो छैन्,’ अध्यक्ष पाण्डेले भने । कर हटाउने सरकारी नीतिलाई नेपाल मुद्रण व्यवसायी महासंघले स्वदेशी मुद्रण उद्योग धरासायी बनाउने खेल भएको आरोप लगाएको थियो । कर बढाउने सरकारी नीतिले नेपाली छापाखानामा नेपाली किताबहरु छापिन सुरु गरेको, अवैध रुपमा भारतमा हुने गरेको कारोबार रोकिएको दाबी मुद्रण व्यवसायीहरुको थियो ।

कर लागेका कारण आयात गर्नै नसकेको भन्ने अवस्था नभए पनि सरकारले उद्योगीको कुरा नसुनेर व्यवसायीको कुरा सुनेको मुद्रण व्यवसायी महासंघका अध्यक्ष शंखर खड्का बताउँछन् । ‘नेपाली तथा विदेशी पुस्तक नेपालमै छापियोस् र हाम्रो मुद्रण उद्योगको गुणस्तर फैलियोस् भन्ने थियो तर सरकारले सुनेन,’ अध्यक्ष खड्काले भने । पछिल्लो आयात विवरणले पुस्तक आयातमा कर घटाउनु पर्ने कारण नै नभएको कुरा सरकारले सुन्नु पर्ने उनले बताए ।

यो पनि पढ्नुहोस किताबमा कर : पुस्तक बिक्रेताको मुद्दा विद्यार्थीसम्म पुग्यो यो पनि पढ्नुहोस बजारमा पठनीय पुस्तक अभाव, करले प्रभाव पारेको व्यवसायीको दावी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment