Comments Add Comment

ट्याक्सी चालकबाट पठाओ राइडर निर्घात कुटिए

१० चैत, काठमाडौं । सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका छन् । आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओ नेपालले बताएको छ ।

सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटिएको प्रत्यक्षदर्शी एवं पर्यटन व्यवसायी ध्रुव सिंखडाले बताए । ‘यात्रु कुरेर बसेका पठाओ राइडरलाई शुरुमा ट्याक्सी चालकले लखेटे, उनीहरुले केहीबेर नाराजुलुस पनि गरे, त्यसपछि बाटोमा हिंडिरहेका पठाओ राइडरलाई कुटपिट गरे’, सिंखडाले अनलाइनखबरसँग भने ।

नजिकैको एक व्यापारिक मलबाट घटना नियालिरहेका उनले अनलाइनखबरलाई उपलब्ध गराएको भिडियो फुटेजमा पनि पठाओ चालकमाथि कुटपिट भएको देखिन्छ ।

एक मिनेट ३५ सेकेन्ड लामो भिडियो फुटेजमा साँझपख केही मानिसहरु नारा जुलुस गर्दै हिंडेको देखिन्छ भने त्यसको केहीबेरमा हेलमेट लगाएका एक पुरुषमाथि निर्घात कुटपिट हुन्छ ।

घटनाबारे जानकारी लिन टेलिफोन गर्दा प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक रमेश विष्टले माथिल्लो निकायमा सोध्न आग्रह गरे । घटना भएको समयमा आफू बाहिर रहेको भन्दै उनले अनलाइनखबरसँग भने, ‘महाराजगन्ज वृत्त वा ट्राफिक महाशाखालाई सोध्नुस्’, विष्टले भने ।

पठाओ र ट्याक्सीकाे विवादबारे सोध्दा प्रहरीको महाराजगञ्ज वृत्तका एक कर्मचारीले कुटपिट भएकोबारे जानकारी नआएको बताए । होहल्ला गर्ने ७ जनालाई ट्याक्सी चालक तथा पठाओ राइडरलाई भने केहीबेर नियन्त्रणमा लिएर सााँझ नै छाडिएको वृत्तका डीएसपी रोशन खड्काले बताए ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले सोमबार साँझ ट्याक्सी चालक र पठाओ राइडरबीच सामान्य विवाद भएको र अहिले समझदारीको प्रयास भइरहेको बताए । ‘पठाओ र ट्याक्सी चालाकहरु यहीँ छन् छलफल भइरहेको छ, यात्रु बोक्ने विषयमा ट्याक्सी र पठाओबीच पुरानै विवाद छ’, मंगलबार बिहान एसपी अधिकारीले अनलाइनखबरसँग भने ।

हाम्रो राइडर कुटिए न्याय पाउँ : पठाओ

सोमबार बेलुकी एक जना यात्रुले नयाँ बसपार्क क्षेत्रबाट आफ्नो घर जान ट्याक्सी चालकसँग भाडा सोधे । ट्याक्सीले १२ सय रुपैयाँ लाग्ने बताएपछि ती यात्रुले पठाओमा जान खोजेपछि विवाद भएको हो । ‘ट्याक्सीले १२ सय भनेको ठाउँमा ६०० मै लैजान्छु भनेपछि ती साथी कुटिए’,  एक जना पठाओ राइडरले अनलाइनखबरसँग भने ।

यात्रु लैजाने विषयमै विवाद भएर आफ्नो राइडर सोमबार बेलुकी कुटिएको पठाओ नेपालकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । ‘हाम्रा यात्रु खोस्ने भनेर हाम्रो राइडरमाथि ट्याक्सीवालाले हातपात गरेको पाइयो, हामीले कसैमाथि पूर्वाग्रह राखेका छैनौं तर हामीलाई अन्याय भयो’, हमालले भनिन् ।

कुटिएका आफ्ना चालकको विवरण कम्पनीले खोजिरहेको पनि उनले बताइन् । पठाओले राइडरमाथि कुटपिट हुनु गम्भीर घटना भन्दै दोषीलाई कारबाही गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment