Comments Add Comment

भारत र चीनले फेरि नेपाली राजनीति प्रभावित पार्दैछन् ?

बेलायतबाट प्रकाशित हुने १७७ वर्ष पुरानो विश्व प्रसिद्ध म्यागेजिन ‘दि इकोनोमिष्ट’ ले २० मार्च २०२१ मा ‘नेपालको राजनीतिक संकटमा भारत र चीनको परस्पर फरक एप्रोच’ शीर्षकमा एक सामग्री प्रकाशित गरेको छ ।

सो पत्रिकाले नेपालमा नयाँ सत्ता समीकरणको सम्बन्धमा अन्योल कायमै रहेको अवस्थामा दुवै मुलुक भारत र चीन दुविधामा रहेको उल्लेख गरेको छ । लेखमा चीनले नेपालमा ‘राजनीतिक हस्तक्षेप’ गरिरहेको र भारतले ‘कुशलतापूर्वक संकट व्यवस्थापन’ गरिरहेको भनेको छ ।

नेपालको आन्तरिक मामिलामा भारतीय प्रभावको चर्चा नयाँ होइन । भारतले नेपालको आन्तरिक मामिलामा ‘माइक्रो म्यानेज’ गरिरहेको विषय पटक पटक बहसमा आउँछ । तर, २०७२ सालमा संविधान जारी भएपछि नेपालको आन्तरिक राजनीतिमा भारतीय प्रभाव निकै कम भएको अनुभूति हुने गरेको छ । तर, नेपालको आन्तरिक राजनीतिमा चीन नयाँ ‘प्लेयर’ हो जुन पछिल्लो समय सुनिने र देखिने भएर आएको छ ।

यतिबेला आफ्नो सरकारलाई प्रतिनिधिसभाको बाँकी अवधि टिकाउन प्रधानमन्त्री केपी ओलीको प्रयत्न र उनलाई जसरी पनि हटाएर नयाँ सरकार बनाउने नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको एउटा पक्ष र जनता समाजवादी पार्टीका केही नेताको प्रयास जारी छ । पार्टी–पार्टीबीच र पार्टीभित्र तीब्र मतभेद चर्किरहेको समयमा भारत र चीनले खेललाई कति प्रभावित पार्न खोजेका होलान् ?

अनलाइनखबरले कुरा गरेका विभिन्न राजनीतिक दलका नेता र विश्लेषकहरु दुवै देशले ‘आफू अनुकुल’ को सत्ता निर्माण चाहे पनि विगतमा जस्तो यसपटक दुवै मुलुक खुलेर नआएको बताउँछन् । तर, नेपालमा सरकार निर्माण गर्ने, गिराउनेलगायतका विशुद्ध आन्तरिक मामिलामा बढ्दो भूराजनीतिक प्रभावप्रति भने विश्लेषकहरु चिन्तित छन् ।

पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्ण नेपालमा सरकार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको आयाम पनि महत्वपूर्ण हुने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘विगत तीन वर्षमा नेपालको राजनीतिमा एकदमै महत्वपूर्ण के भयो भने भूराजनीतिक आयामले हाम्रो आन्तरिक राजनितिलाई धेरै प्रभाव पार्न थालेको छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय शक्तिहरु बीच सरकार बनाउने र बनाउन नदिनेमा प्रतिस्पर्धा नै हुन थालेको छ ।

संसद पुनर्स्थापनासँगै नेकपाभित्रको विवाद मिलोस् भन्ने चीनको चाहना थियो । सर्वाेच्चको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि चीनको जोड पुन वामपन्थी दलहरुको एकतामा रहेको छ ।

‘यो चाहिँ एकदमै नराम्रो अवस्था हो तर दुर्भाग्यवश हाम्रा राजनीतिक दलले यसलाई गम्भीरतापूर्वक लिएका छैनन्’ कर्णले भने, ‘यसको सम्पूर्ण जिम्मेवारी अहिले प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ किनभने उनले यो ३ वर्षमा अन्तर्राष्ट्रिय शक्तिहरुसँग अनावश्यक रुपमा ‘प्ले’ गरे र अहिलेको अवस्था आयो ।’

यतिबेला भारत र चीन दुवैले कुनै न कुनै रुपमा नेपालको राजनीतिलाई प्रभावित पार्न खोजिरहेको देखिन्छ । पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पुनः राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छन् । दुई वर्ष अगाडि नेकपामा आन्तरिक द्वन्द्व शुरु भएदेखि नै उनी निकै सक्रिय छिन् ।

उनले मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेकी छन् । भेटवार्तामा उनले के विषयमा कुराकानी गरिन् भन्ने चाहिँ दुबै पक्षले सार्वजनिक गरेका छैनन् ।

एक नेताका अनुसार प्रतिनिधिसभा भंगपछि त्यसलाई एक अप्रत्यासित घटनाक्रमको रुपमा लिएको चीनले संसद पुनर्स्थापनालाई भने केही राहतको रुपमा लिएको छ ।

पुनर्स्थापनासँगै नेकपाभित्रको विवाद मिलोस् भन्ने उसको चाहना थियो । सर्वाेच्चको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि चीनको जोड पुन वामपन्थी दलहरुको एकतामा रहेको छ ।

एक दशक अगाडिसम्म नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप नगर्ने पहिचान बनाएको चीन पछिल्ला वर्षहरुमा राजनीतिक विषयमा समेत खुलेर आउन थालेको छ ।

पुस ५ मा प्रतिनिधिसभा भंग भएलगत्तै यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख नेपाल भ्रमणमा आए । उनले त्यतिबेला नेकपा पुनः मिल्न सक्ने सम्भावना र फुटले नेपालको राजनीतिक स्थिरतामा पार्न सक्ने असरको बारेमा जिज्ञासा राखेका थिए । त्यसपछि पनि चीनले निरन्तर रुपमा नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियाल्दै आएको छ ।

पछिल्लो समय फेब्रुअरीको पहिलो साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चीनका विदेशमन्त्री वाङ यीले नेपालको आन्तरिक मामिलाको बारेमा चासो राखेका थिए । उनले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको र नेपाली जनताले रोज्ने बाटोलाई समर्थन गर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत जनाएको थियो ।

उनले नेपालका राजनीतिक दलहरुले विमतिहरुलाई पन्छाएर एउटा साझा बाटो पहिल्याउने विश्वास चीनले लिएको बताएका थिए । नेकपाको गठन भएपछि चीनले सो पार्टीसँग निकै नजिकबाट काम गर्‍यो । चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीको बीचमा सन् २०१९ को सेप्टेम्बर महिनामा एक समझदारी पत्रमा नै हस्ताक्षर भयो ।

भूराजनीतिक विश्लेषक चन्द्रदेव भट्ट सर्वाेच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको र एमालेमा आन्तरिक द्वन्द्व चर्केको अवस्थामा नयाँ सरकारका सम्बन्धमा चीन नेपालमा दुविधामा रहेको हुनसक्ने बताउँछन् ।

उनी भन्छन्, ‘चीनले नेकपालाई एक भरपर्दाे शक्तिको रुपमा हेरेको थियो, फेरि पनि चीन नेपालमा वामपन्थीहरुसँग काम गर्न नै सहज ठान्छ, तर तत्काल सरकार गठनका सम्बन्धमा उसले यही हुनुपर्छ भने जस्तो लाग्दैन ।’

राजनीतिक दलका नेता र विश्लेषक पछिल्लो समयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सजिलै सरकार बन्ने अवस्था हुँदा पनि राजनीति त्यता नजानुमा कुनै न कुनै रुपमा भूराजनीतिक अर्थ रहेको बताउँछन् ।

उता भारत पनि नेपालका सम्बन्धमा दुविधामा नै रहेको देखिन्छ । नेपालमा प्रतिनिधि सभाको भंग हुनुभन्दा अगाडि निकै सक्रिय भारत भने यतिबेला तुलनात्मक रुपमा शान्त देखिन्छ । विगतमा नेपालको आन्तरिक मामिलामा ‘माइक्रोम्यानेज’ गरेको खुल्ला आरोप खेपेको भारतले भने अहिले शान्त कूटनीतिको अभ्यास गर्दै आएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले राजनीतिक दलका नेताहरुसँग धेरै भेटघाट गर्ने भएपनि त्यो गुपचुप नै रहने गरेको छ । यस बीचमा उनले विभिन्न राजनीतिक दलका नेताहरुलाई भने भेटिरहेका छन् ।

नेपाल मामिलालाई नजिकबाट हेरिरहेका एक भारतीय विश्लेषकले अनलाइनखबरसँग भने, ‘नेपालको मामिलामा भारत यतिबेला निकै दुविधामा रहेको देखिन्छ । तत्कालका लागि उसले प्रधानमन्त्री केपी ओलीकै सरकारको निरन्तरता खोजेको देखिन्छ ।’

उनका अनुसार भारतले ओली सरकारलाई समर्थन गर्ने पक्षमा विभिन्न दलहरुलाई ‘प्रोत्साहित’ गर्नसक्छ ।

भूराजनीतिक विश्लेषक भट्ट भारतले जहिले पनि आफूलाई नेपालको लोकतान्त्रिक शक्तिहरुसँग काम गर्न सहज ठान्ने बताउँछन् । उनले भने, ‘तर पछिल्लो समयमा उसले वामपन्थी दलहरुसँग पनि सहज महसुस गर्न थालेको देखिन्छ ।’

राजनीतिक दलका नेता र विश्लेषक पछिल्लो समयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सजिलै सरकार बन्ने अवस्था हुँदा पनि राजनीति त्यता नजानुमा कुनै न कुनै रुपमा भूराजनीतिक अर्थ रहेको बताउँछन् ।

यतिबेलाको असजिलो पनि भूराजनीतिक दबाब र प्रभावका कारणले उत्पन्न भएको कतिपयको बुझाइ छ । उनीहरुका बुझाइमा विशेषत भारतले नेपालमा अहिले नै निर्वाचन हुँदा प्रजातान्त्रिक शक्तिले चुनाव जितेर आउने र त्यो आफू अनुकुलको हुने आंकलन गरेको हुनसक्छ ।

नेकपा एमालेका नेता एवं भूराजनीतिक मामिलाका जानकार डा. दीपक भट्ट भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा नेपालमा राजनीतिक स्थिरता होस् भन्ने दुवै छिमेकीले सोच्नु सबैभन्दा उपयुक्त हुन्थ्यो । हामीसँग अझै डेढ वर्ष संसदको समय छ । त्यो समयले एउटा स्थिरता ल्याउँछ ।’ उनले अझै ‘लोयल’ र ‘डेमोक्रेटिक कभरअप’ रहेका शक्ति चुनावबाट आउँदा अझै राम्रो हुने केही शक्तिले सोचेको हुनसक्ने बताए ।

भट्टले भने, ‘तर, छिमेकीहरुको चासो ‘सेकेन्डरी’ कुरा हो, अहिलेको अवस्था हामी आफैंले व्यवस्थापन गर्न नसकेर आएको हो । हामीले नै यसको समाधान खोज्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment