+
+
Shares

सोलु हाइड्रोपावरको आईपीओ मंसिर ७ देखि खुल्ने, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोलु हाइड्रोपावर कम्पनीले आगामी मंसिर ७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
  • आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका लागि पहिलो चरणमा आईपीओ बाँडफाँट हुनेछ।
  • कम्पनीले २ अर्ब रुपैयाँ बराबर २ करोड कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ।

२८ कात्तिक, काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आगामी मंसिर ७ गतेदेखि निष्कासन हुने भएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन हुन लागेको हो । यी समूहमा आईपीओ बाँडफाँटपछि मात्रै आम सर्वसाधारणका लागि निष्कासन हुनेछ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १ करोड कित्ता सेयर छुट्याइएको छ । सोलुखुम्बुको दुधकुन्ड नगरपालिका ७,११ र थुलुङ दुधकोशी गाउँपालिका १ का स्थानीयबासीलाई ४० लाख कित्ता, यी दुई पालिकाका ती वडाबाहेक अन्य वडालाई ६० लाख कित्ता सेयर छुट्याइएको छ ।

वैदेशिक रोजगारमा रहेकालाई १० लाख कित्ता सेयर छुट्याइएको छ । प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रभावितका लागि छिटोमा मंसिर २१ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण सेयर बिक्री नभएमा पुस ७ गतेसम्म आवेदन खुल्ने छ । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई छिटोमा मंसिर १० र सो अवधिसभित्र सम्पूर्ण सेयर बिक्री नभएमा मंसिर २१ गतेसम्म आवेदन खुल्नेछ ।

प्रभावितले ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा तल्लो सोलु जलविद्युत् आयोजना कार्यालयमा विवरणपत्र प्राप्त गर्न तथा फारम भरेर बुझाउन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ कम्पनी ?

यो कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरेको छ । रन अफ रिभर प्रकृतिको उत्पादनमा आधारित यस आयोजना ८२ मेगावाट क्षमताको छ । आयोजना सम्पन्न भएको कम्पनीले जनाएको छ ।

ब्याजसहित आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ । आयोजनाबाट व्यापारिक उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसा छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ छ । जगेडा कोषमा १ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि (अनुमानित) ६.७८ वर्ष रहेको छ । सेयर पूँजीबाट ८ अर्ब रुपैयाँ जुटाउने कम्पनीको हाल ऋण १० अर्ब ६० करोड रुपैयाँ छ ।

कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको छ । यसले दायित्व बहनमा मध्यम स्तरलाई जनाउँछ । विद्युत् उत्पादन बहाल रहने अवधि वि.सं. २१०६ चैत ४ रहेको छ ।

कम्पनीका ठूला संस्थापक सेयरधनीमा गोविन्दलाल सांघाई, रामचन्द्र सांघाई, विरेन्द्रकुमार सांघाई, आदित्य सांघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, सुभाषचन्द्र सांघाई, हर्षबर्दन सांघाई, निकुञ्ज अग्रवाल लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?