Comments Add Comment

नेपाली परम्परागत खाजा : जुन यात्राको समयमा बोकेर जान सकिन्छ

यात्रा मानवबस्ती भएको ठाउँमा वा पूरा प्राकृतिक क्षेत्रमा पनि हुन सक्छ । हिँड्‍दै जाँदा खाजा खाने ठाउँ नै भेटियो भने पनि आफूले भने अनुकूलको खाना खान पाइँदैन । यस्तो अवस्थामा आफूले खाजा बोकेर लैजानु नै उपयुक्त हुन्छ । तर खाजा के लैजाने ?

छोटो तथा लामो यात्रामा निस्कँदा धेरै दिनसम्म नबिग्रने खानेकुरा के बोकेर जानु पर्ने हुन्छ । खानाको बन्दो बस्त भए पनि धेरै दिनको लागि यात्रामा जाँदा पनि आफूलाई मन पर्ने खानेकुरा आफैँले लैजानु उपयुक्त हुन्छ ।

हरेक हप्ताको शनिबार घुम्न जाने छोटो दुरीको लागि समेत तल उल्लेख गरिएका खाजाहरू उपयुक्त हुन सक्छन् । कोरोनाको महामारीको समयले धेरैलाई घरमा तयार पारिएका खानेकुरा खाने बानी धेरैमा बसालेको छ । केही परम्परागत खाजाको परिकारलाई हामीले तल उल्लेख गरेका छौं ।

अनरसा

अनरसा तिहारमा नेपालीहरूको घरघरमा बन्ने एउटा स्वादिष्ट परिकार हो । सेलरोटीसँगै बनाइने यो परिकारलाई तिहार मात्रै नभएर अरु समयमा समेत बनाएर खान सकिन्छ । नरम गरी मुछिएको पिठोलाई स–साना गोला बनाई हातले रोटीको आकार दिने र त्यसमाथि तिल हालेर तताएको घ्युमा खैरो नहुन्जेल पकाउने गरिन्छ।  यसलाई खाजाको रूपमा प्रयोग गर्न सकिन्छ ।

अर्सा

अर्सा, चामलको पिठो, घिउ र खुदोबाट बनाइने मीठो गुलियो पुरी जस्तो पातलो रोटी हो । सख्खररखुदोको प्रयोगले यो कैलो रङ्गको हुन्छ । धेरै लामो समयसम्म नबिग्रिने भएकोले यात्रामा जाँदा खाजाको रूपमा यसलाई प्रयोग गर्न सकिन्छ।

बगिया

तराईमा बस्‍ने आदिवासी थारु समुदायले खाने बगिया लक्ष्मीलाई ‘हुक्‍के(हुक्‍का’ खेलेर भित्र्याएको भोलिपल्ट बनाउने गर्छन् । यो पीठोबाट बनेको परिकार हो । यो परिकार बाफबाट पकाउने गरिन्छ।  यही कारणले पनि यसलाई गिया भनिएको भन्ने कतिपयको कथन छ । यो पनि खाजाको लागि उपयुक्त परिकार हो ।

बारा

बारा नेवारी समुदायमा बढी चर्चित खाद्य परिकार हो । विशेषगरी बनेपा, काभे्र, ललितपुर, काठमाडौं र भक्तपुरमा धेरै चर्चित रहेको यो परिकार मासको पिठोबाट बनाउने गरिन्छ । यसमा शाकाहारी र मासु राखेर दुवै तरिकाबाट यसलाई बनाउन सकिन्छ ।

भक्का

भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराईमा जाडो मौसममा बिहानको खाजाको रूपमा खाइन्छ।

चाकु

चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका–चाका पारी जमाइएको गुलियो खाद्यपदार्थ हो। यो स्वादिस्ट पौष्टिक एवं लामो समयसम्म नबिग्रने खालको भएकोले यो पनि खाजाको लागि तयार पार्न सकिन्छ ।

चतामरी

चतामरि चामलबाट बनाइने एक किसिमको रोटी हो । यो रोटी विशेष गरेर काठमाडौ उपत्यकाका नेवार समुदायमा बढी चर्चित छ । यसलाई विशेष चाडपर्वमा खाने गरिन्छ । नेवारीमा चटामरीको शाब्दिक अर्थ हुन्छ, चामलबाट बनाएको रोटी। यो चामलको पातलो रोटिमा मासु, लशुन प्याजको किमा, अण्डा र अन्य मसला राखेर बनाइन्छ । यसलाई पनि यात्राको क्रममा खाजाको रूपमा लैजान सकिन्छ।

चिउरा

चिउरा सबैलाई थाहा भएकै परिकार हो । यो लामो समयसम्म बिग्रँदैन र भोक मेटाउनको लागि उपयुक्त पनि हुन्छ । धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाध्यप‍दार्थ नेपालीको खानामा चिउराको ठूलो महत्त्व छ। दही, मासु, मिठाई लगायत अन्य धेरै परिकार सँग पस्किन सकिने भएकोले चिउरा अति प्रचलित छ ।

फुरौला

फुरौला मासबाट बनाइएको एउटा खाद्य परिकार हो । मासलाई पिँधेर त्यसको पिठो बनाइन्छ, त्यो पिठोमा अन्य विभिन्न परिकार मिसाएर त्यसलाई डल्लाडल्ला बनाएर तेलमा तताएपछि त्यो स्वादिष्ट परिकार बन्छ । यसलाई धेरै दिनसम्म राख्न सकिन्छ । त्यसैले पनि यसलाई खाजाको रुपमा प्रयोग गर्न सकिन्छ ।

खजुरी

खजुरी घिउचिनी र पीठो मुछेर पकाइने एक किसिमको चक्कादार मिठाई हो । यो उच्च तापक्रममा पकाउँदा पनि बाहिर डड्ने र भित्र काँचै हुने गर्छ । यसलाई राम्ररी हावा नछिर्ने ठाउँमा राखे धेरै दिन बिग्रँदैन । त्यसैले पनि यसलाई खाजाको रूपमा प्रयोग गर्न सकिन्छ ।

लखमरी

चामलको पिठो, शुद्ध घ्युलगायतबाट बनाइएका लखमरी नेपालको एक चर्चित परम्परागत मिठाई हो । नेवार समुदायमा विवाह समारोहमा यसको विशेष महत्व हुन्छ । पाहुनालाई सगुनको रूपमा दिइने यो परिकार दुलाहाको परिवारले दुलहीको परिवारलाई दिने गरिन्छ। यो पनि लामो समय राख्न सकिने खालको भएकोले यसलाई पनि यात्राको क्रममा खाजाको लागि लैजान सकिन्छ ।

मालपुरी वा मालपुवा

मालपुरी वा मालपुवा पनि यात्राको लागि उपयुक्त खानेकुरा हो । यो पिठोलाई तलमा पकाएर बनाइने एक खाद्य परिकार हो । यो लामो यात्राको लागि भन्दा पनि बढी छोटो यात्रामा खाजाको रूपमा प्रयोग गर्ने गरिन्छ ।

पुस्टकारी

पुस्टकारी पनि एक किसिमको खाद्य परिकार हो । यो चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी स–साना डल्ला पारी जमाइएर बनाउने गरिन्छ । पुष्टकारी पनि धेरै दिनसम्म नबिग्रने खाद्य परिकार भएकोले यसलाई पनि यात्रामा खाजाको रूपमा लैजान सकिन्छ ।

सेलरोटी

सेलरोटी पनि लामो समयसम्म नबिग्रने एउटा खाद्य परिकार हो । यो परिकारलाई त्यसै वा तरकारीसँग खान सकिन्छ । यसलाई पनि एक सातासम्मको यात्राको लागि खाद्य परिकारको रुपमा लैजान सकिन्छ ।

योमरी

चाकु योमारीका लागि सख्खरको केही मात्रा, कालो तिल, तिलको पाउडर र स्वादका लागि दालचिनी वा अलैँची पनि राख्न गरिन्छ । त्यस्तै, खुवावाला योमरीका लागि खुवाको एक भाग, चिनी, नरिवलका टुक्रा, बदाम र स्वादका लागि अलैँची वा दालचिनीको प्रयोग गरिन्छ । यो पनि छोटो दुरीको यात्राको लागि उपयुक्त खाद्य परिकार हो ।

तिलौरी

तिलौरी सखर वा चिनीको पाकमा तिल टाँसिएको सानो डाँठजस्तो टुक्रे खानेकुरा हो । यसलाई पनि यात्राको खाजाको रूपमा प्रयोग गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment