Comments Add Comment

होलीमा कडा चेकजाँच : ११७३ सवारी साधन कारबाहीमा

१५ चैत, काठमाडौं । होली खेलेर सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटना रोक्न भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार अपरान्ह ४ बजेसम्ममा एक हजार १ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईका अनुसार ४ सय ५८ वटा सवारीसाधनलाई अझै होल्डमै राखिएको छ । ‘उनीहरुलाई पनि भरेसम्ममा स्क्रिनिङ गरेर कारबाही गर्छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भट्टराईले भने, ‘मादक पदार्थ सेवन गरेर कुदाउने ३१ जनाविरुद्ध कारबाही भइसकेको छ ।’

होली पर्व मर्यादित होस् भनेर चेकजाँचमा कडाइ गरिएको उनले बताए । उनका अनुसार आइतबार हालसम्म उपत्यकामा ठूलो दुर्घटना पनि भएको छैन । ट्राफिक प्रहरीले उपत्यकाभर ९० वटा चेक पोइन्ट राखेर चेकजाँच गरिरहेको छ भने ७ सय बढी ट्राफिक प्रहरी परिचालित छन् ।

गृह मन्त्रालयले होलीमा सार्वजनिक कार्यक्रम गर्न पनि रोक लगाएको छ । सार्वजनिक कार्यक्रम गरेमा आयोजकलाई नियन्त्रणमा लिएर संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पाल भन्छन्, ‘केही सार्वजनिक कार्यक्रम रद्द भएको खबर पाएका छौं, हालसम्म कसैलाई नियन्त्रणमा लिनु परेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment