+
+
Shares

वैदेशिक रोजगारीमा जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने   

रासस रासस
२०७७ चैत १८ गते १०:०५
फाइल तस्वीर

१८ चैत, काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ ।

वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने बताएको हो । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।

पछिल्लो समयमा विभागले गरेको अनुगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने/दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएको थियो । विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएको थियो ।

नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिकले असुविधा भोग्नुपर्ने विभागले जनाएको छ । नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने विभागको भनाइ छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्नेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?