Comments Add Comment

ललितपुर मेयर क्रिकेट : एपीएफले प्रदेश १ लाई हरायाे

२१ चैत काठमाडौं । सीता राना मगरको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेटमा प्रदेश १ लाई ८ विकेटले पराजित गरेको छ ।

शनिबारदेखि शुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा सहज जितपछि एपीएफले गत पुसमा भएको प्रधानमन्त्री कप फाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा एपीएफले १०७ रनको लक्ष्य १८ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।

ओपनर ज्योति पाण्डे र सीता राना मगरले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै गतिलो शुरुवात दिलाएका थिए । कप्तानसमेत रहेकी सीताले अविजित ५२ रन बनाइन् । उनले ५० बल खेल्दै ७ चौका प्रहार गरिन् । यस्तै विकेटकिपर ज्योतिले ४० बल खेल्दै ५ चौका मद्दतमा ३२ रन जोडिन् । सरिता मगर ६ रन बनाएर आउट भइन् भने इन्दु बर्मा ८ रनमा अविजित रहिन् ।

प्रदेश एकका लागि रुविना क्षेत्री र संगीता राईले एक–एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १०६ रन बनाएको थियो । कप्तान रुविनाले प्रदेश १ का लागि सर्वाधिक ४५ रन बनाइन् । यस्तै रोमा थापाले ३३ रन बनाइन् ।

प्रदेश १ ले रन जोड्नुअघि नै ओपनर अप्सरी बेग खाता नखोली आउट भएकी थिइन् । त्यसपछि विकेटकिपर काजल श्रेष्ठ ५ रन बनाएर आउट हुँदा प्रदेश १ ले २६ रनमा दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटको लागि कप्तान रुविना र रोमाले ६६ रनको साझेदारी गरे । रुविनाले ४८ बल खेल्दै ६ चौका मद्दतमा ४५ रन  र रोमाले ४२ बल खेल्दै ५ चौका मद्दतमा ३३ रन जोडे ।

एपीएफकी रेखा रावलले ३ ओभरमा १ ओभर मेडन राख्दै ७ रन मात्र खर्चेर १ विकेट लिइन् । यस्तै करुणा भण्डारी, सीता राना मगर र विनु बुढाले एक–एक विकेट लिइन् ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको च्याम्पियनसिपमा पुसमा भएको प्रधानमन्त्री कपको सेमिफाइनल खेलेका चार टिम र ललितपुर मेयरको एक टिम गरी कुल पाँच टिमको सहभागिता छ ।

सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । च्याम्पियनसिपको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५–१५ हजार पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment