Comments Add Comment

वर्ष २०७७ मा नेपाली खेलकुद र कोरोना महामारी

३१ चैत काठमाडौं ।

  • आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज
  • फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट
  • नवौं बृहत राष्ट्रिय खेलकुद
  • शहीद स्मारक ए डिभिजन लिग फुटबल
  • राष्ट्रिय लिग फुटबल
  • क्रिकेटको राष्ट्रिय प्रतियोगिता
  • भलिबलको राष्ट्रिय प्रतियोगिता
  • साफ च्याम्पियनसिप फुटबल

माथि उल्लेख गरिएका ठूला खेलकुद प्रतियोगिताहरु कोरोना महामारीकै कारण २०७७ मा आयोजना हुन सकेन ।

कोरोनाले गर्दा लकडाउनसँगै सुरु भएको वर्ष २०७७ कोरोनाकै नयाँ भ्यारियन्टको त्राससँगै सकिँदैछ । वर्षको सुरुवातमा खेलकुद गतिविधि ठप्प नै रह्यो । जसको ठूलो प्रभाव खेलकुदमा पर्‍यो ।

२०७६ को अन्त्यमा पनि कोरोनाले गर्दा धेरै गतिविधि प्रभावित बनेको थियो । जुन २०७७ मा पनि कायमै रहृयो । यद्यपि २०७७ सालको अन्तिम महिना चैत खेलकुदमय बन्यो ।

वर्षको दोस्रो भागमा खेलकुद बिस्तारै मैदान फर्किन थाल्यो । केही खेलको राष्ट्रिय प्रतियोगिताहरु आयोजना भए । केही खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागिता जनाए । विशेषगरी कोरोनाबाट मैदान फर्किएपछि फुटबल, भलिबल र क्रिकेट गतिविधि धेरै भए ।

तर चैतमा तय भएको विश्वकप फुटबल छनोटका दुई खेल स्थगित भयो । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज समेत अनिश्चितकालका लागि स्थगित भयो ।

वर्षकै अन्तिम महिना चैतमा नेपालमा अन्तर्राष्ट्रिय फुटबल नै आयोजना भयो । विश्वकप छनोट खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले थ्री नेशन्स कप आयोजना गरेको थियो । जसमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल विजेता बन्यो । यसै प्रतियोगिताबाट नेपालका सफल कप्तान विराज महर्जनले १३ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई बिट मारे ।

नेपालले कात्तिक अन्तिममा बंगलादेशसंग ढाका गएर दुई मैत्रीपूर्ण फुटबल खेल खेल्यो । पहिलो खेलमा २-० ले पराजित नेपालले दोस्रो खेलमा बराबरी खेलेको थियो । दुई खेलमा गरी नेपालका ६ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरे ।

नेपालका दुई धावक ढाका अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भए । जसमा पुष्पा भण्डारीले दक्षिण एसियाली समूहमा स्वर्ण जितिन् ।

यस्तै नेपालका सन्दीप लामिछाने क्यारेबियन पि्रमियर लिग र बिग बास लिग खेले । इन्डियन पि्रमियर लिगमा छनोट भए पनि उनले दिल्ली क्यापिटल्सका लागि कुनै खेल खेल्न पाएनन् ।

सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा आयोजना भएको अबुधाबी टी-१० लिग पहिलो पटक खेले । त्यही लिगमा पारस खड्काले टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा भूमिका निर्वाह गरे ।

२०७७ मा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको सम्बन्ध यही रह्यो । राष्ट्रिय स्तरमा भने विभिन्न खेलका प्रतियोगिताहरु भए ।

फुटबलमा पहिलो पटक डबल राउण्ड रोविन लिगको आधारमा राष्ट्रिय महिला लिग यसै वर्ष आयोजना भयो । विभागीय टोली एपीएफले अपराजित रहँदै लिग उपाधि जित्यो । तर सावित्रा भण्डारीको चोटले उपाधि केही खल्लो बन्यो ।

यस्तै एन्फा प्रेसिडेन्ट लिग यसै वर्ष आयोजना भयो । २०७६ मा स्थगित भएको बी डिभिजनको बाँकी खेल र सी डिभिजन पनि यसै वर्ष आयोजना भयो । मोसफलकै प्रतिष्ठित फुटबल आहा रारा गोल्डकप पनि चैतमै सम्पन्न भयो ।

क्रिकेटमा पनि प्रधानमन्त्री कप महिला र पुरुष क्रिकेटले निरन्तरता पायो । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमको रुपमा रहेको प्रधानमन्त्री कप नेपाल क्रिकेट संघ क्यानले व्यवस्थापन गर्‍यो ।

यस्तै काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा काठमाडौं मेयर कप पुरुष क्रिकेट र ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट क्यानले आयोजना गर्‍यो ।

क्यानले आफ्नै राष्ट्रिय प्रतियोगिता कुनै गर्न नसके पनि चार क्रिकेट प्रतियोगिता आयोजना भयो । पुरुषको दुवै क्रिकेट एकदिवसीय फर्म्याटमा भए पनि महिलाको भने दुवै टी-२० फर्म्याटमा आयोजना भयो । प्रधानमन्त्री कप पुरुष क्रिकेट त्रिभुवन आर्मीले जित्दा महिलामा प्रदेश १ च्याम्पियन बन्यो ।

यस्तै काठमाडौं मेयर कपको उपाधि नेपाल पुलिस क्लबले जित्यो भने ललितपुर मेयर वुमन्स च्याम्पियनको उपाधि एपीएफले जित्यो ।

यस्तै भलिबलमा पनि वर्षको अन्तिम महिना एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल आयोजना भयो । तीन भारतीय खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोर्ट्स क्लब पुरुषतर्फ च्याम्पियन बन्यो ।

महिलातर्फ न्यू डायमण्डले एपीएफको दबदबा तोड्दै उपाधि जित्यो । त्यसअघि पोखरामा भएको टाइगरकप भलिबलमा महिलातर्फ नेपाल पुलिस र पुरुषतर्फ गण्डकी प्रदेशले उपाधि जित्यो । नेपालगन्जमा भएको प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफले जित्यो । फुटबल, क्रिकेट र भलिबलको मोफसलमा पनि विभिन्न खालका प्रतियोगिताहरु आयोजना भए ।

यी तीन खेलबाहेक २०७७ मा धेरै प्रतियोगिता आयोजना हुने खेल एथ्लेटिक्स बन्यो । नेपालगन्ज म्याराथनदेखि प्रधानसेनापति म्यारानसम्म यही वर्ष आयोजना भयो ।

ओलम्पिक छनोटको रुपमा रहेको नेपालगन्ज म्याराथन जित्दै एपीएफका धावक गोपीचन्द्र पार्की टोकियो २०२० का लागि छनोट भए ।

कोरोना महामारीका बीच पनि मैदान बाहिर पनि नेपाली खेलकुद धेरै व्यस्त रह्यो । विशेषगरी नेपाल क्रिकेट संघ (क्यान) यस मामलामा चर्चामा रह्यो । खेलाडीको ग्रेडिङ छुट्याउनेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) भारतीय कम्पनीलाई गर्न दिने प्रस्तावले क्यान आलोचित बन्यो । क्यानले गरेका हरेक निर्णय विवादित बने ।

तर वर्षको अन्त्यतिर सोमबार क्रिकेटमा दुई राम्रा काम भए । चौधरी ग्रुपले नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टिमदेखि राष्ट्रिय प्रतियोगितालाई ५ वर्षका लागि प्रायोजन गर्ने निर्णय गर्यो । यस्तै सिनियर राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नयाँ लोगोको रुपमा माई सेकेण्ड टिचर रहने भएको छ जसका लागि क्यानले एडप्याडलाई अधिकार दिएको थियो र एडप्याडले आइएनजी ग्रुप अन्तर्गत लर्निङ एप माइ सेकेण्ड टिचरलाई भित्राएको हो ।

क्यानले नयाँ वर्ष २०७७ को वैशाख पहिलो साता नै नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित टी-२० सिरिज आयोजना गर्ने भएको छ । यस्तै नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले २०७८ वैशाख दोस्रो साता नेपालको पहिलो अक्सन बेस्ट फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग आयोजना गर्ने निर्णय पनि यसै वर्ष गरेको हो ।

वर्ष २०७७ मा खेलाडीदेखि प्रशिक्षकसम्मलाई कोरोनाले छाडेन । स्क्वासका प्रशिक्षक हिरा थापालाई पहिला कोरोना संक्रमण देखियो । त्यसपछि क्रिकेटर पारस खड्का, सन्दीप लामिछाने लगायत धेरै खेलकर्मी कोरोना संक्रमित बने ।

वर्ष २०७७ मा भलिबलले प्रशिक्षक सुदेश रिमाललाई गुमायो । भलिबलका पूर्व मुख्य प्रशिक्षक रिमालको हृदयघातका कारण निधन भएको हो ।

२०७६ मंसिरमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कीर्तिमानी ५१ स्वर्ण जित्दै सफलतापूर्वक आयोजना गरेको थियो । तर कोरोना महामारीले गर्दा त्यो सफलताको स्वाद नेपाली खेलकुदले राम्रोसँग चाख्न पाएन । जसले गर्दा २०७७ मा नेपाली खेलकुद अन्योलमै बित्यो ।

२०७७ को फागुनमा बृहत राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने तय थियो । तर कोरोना महामारीकै कारण राष्ट्रिय खेलकुद अनिश्चितकालका लागि स्थगित छ । चैतमै तय भएको फुटबल विश्वकप छनोटको दुई खेल नेपालले अब २०७८ जेठ अन्तिमतिर खेल्ने तय भएको छ । तर चैतमै तय भएको क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक क्रिकेट सिरिज भने अनिश्चितकालका लागि स्थगित छ । नेपालले लिगको अर्को सिरिज २०७८ साउनमा खेल्ने तय छ ।

यसबाहेक ए डिभिजन लिग फुटबल, राष्ट्रिय लिग फुटबल २०७७ मा हुन सकेन । यस्तै साफ च्याम्पियनसिप फुटबल पनि कोरोनाकै कारण एक वर्ष पछि सरेको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयमा दावा लामा नयाँ मन्त्री बनेर आए । राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव रमेश कुमार सिलवाल नयाँ ऐनअनुसार फेरि नियुक्त भए । राखेपको बोर्ड बैठक अझै बस्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment