+
+

बालुवाटारमा धार्मिक उत्सव, माडी पठाउने राम-सीताका मूर्ति प्रधानमन्त्रीद्वारा हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते ८:३३

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहानै मंगल धुन गुन्जिन थाल्यो । एकातिर पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो ।

कोरोना संक्रमण रोक्न सरकारले नै २५ जनाभन्दा धेरैलाई भेला हुन रोक लगाएको बेला प्रधानमन्त्री निवासमै भएको भिडप्रति स्थानीयको चासो थियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम-सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान आयोजना गरिएको थियो बालुवाटारमा । भिडको कारण त्यही थियो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, पार्टीका नेता-कार्यकर्ता, उच्च ओहोदाका कर्मचारी, सन्तमहन्तलगायतको उपस्थिति थियो।

प्रधानमन्त्रीले हस्तान्तरण गरेपछि मूर्ति राखेेर फूलमालाले सजाइएका गाडीहरुको लस्कर बालुवाटारबाट चितवन प्रस्थान गरेको छ ।

ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्ने कार्यक्रम छ ।

पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार (यही वैशाख ८ गते) अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरे । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्‍याली सहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ ।

पुरोहितहरुको सहभागिता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको बागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?