Comments Add Comment

वीरगञ्जका १४ उद्योग प्रदूषण नियन्त्रण गर्न सहमत

७ वैशाख, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिका-३२ चोर्नी क्षेत्रमा रहेको उद्योगहरु प्रदूषण नियन्त्रणका लागि सहमत भएका छन् । चोनी क्षेत्रमा सञ्चालित १४ वटा उद्योगका प्रतिनिधिले आफ्नो उद्योगबाट निस्कने फोहोर व्यवस्थापन गर्ने वाचा गरेका हुन् ।

स्थानीयको उजुरीपछि जिल्ला प्रशासन कार्यालय पर्सामा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलेको उपस्थितिमा कार्यकक्षमा मंगलबार सरोकारवालाको बैठक बसेको थियो ।

बैठकमा सबै कम्पनीहरुले १ महिनाभित्र आ–आफ्नो ट्रिटमेन्ट प्लान्ट बनाई फोहोरमैलाको व्यवस्थापन गर्ने, सबै कम्पनीहरुले स्थानीय जनताहरुलाई प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराउने, सडक निर्माणका लागि वीरगञ्ज महानगरपालिकासँग समन्वय गरी काम अघि बढाउन पहल गर्ने, सडकको पीच नहुँदासम्म सबै कम्पनीहरुको सहयोगमा दिनको कम्तीमा तीन पटक ट्याङकीबाट पानी हालेर धुलोको व्यवस्थापन गर्ने, प्रारम्भिक वातावरण परीक्षण (आईईई) नगरी सञ्चालन भएका कम्पनीहरुले एक महिनाभित्र आईआइई गरी उद्योग सञ्चालन गर्ने र कोभिड संक्रमणको प्रभाव तथा संक्रमणलाई नियन्त्रण गर्न सबै निर्धारित उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी काम गर्न सहमति जनाएका छन् ।

बैठकमा सहभागी जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य रम्भा मिश्रले उद्योगी तथा उद्योगका प्रतिनिधिहरु वातावरण प्रदूषण नियन्त्रणका लागि सहमत भएको बताइन् ।

‘ यसअघि स्थानीयको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थियौं, प्रशासनले उद्योगी र प्रतिनीधिहरुसँग छलफल गराएको हो ।’ उनले भनिन् ‘प्रदूषण नियन्त्रण र भारतीय मजदुर भन्दा स्थानीय मजदुरलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो अडान थियो । उनीहरु त्यसमा सहमत भएका छन् ।’ सहमति अनुसार काम नभए आफूले उद्योगलाई कारबाहीका लागि आवश्यक कदम चाल्ने उनको भनाइ छ ।

चोनी क्षेत्रमा गौतम स्टिल्स, दुर्गा पेपर, रुक्मिणी ईन्डष्ट्रिज, विशाल नट बोल्ट, अन्नपूर्ण रोलिङ मिल्स, जय बजरंग, स्टार आइरन एण्ड स्टिल इन्डष्ट्रिज, गंगोत्री स्टिल, फारचुन स्टिल, जय माता दि स्टिल, सत्यम गोदाम, मारुती पेपर प्लान्ट, भास्कर हर्बल, बेफु फेंग लेदर लगायतका उद्योग सञ्चालनमा छन् ।

यी उद्योगहरुबाट निस्किरहेको फोहोर, धुवा, धुलो जस्ता फोहोरजन्य पदार्थले वातावरण र मानव जीवनमा असर पारेको गुनासो स्थानीयले प्रशासन समक्ष गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment