Comments Add Comment

कुशल भुर्तेल टी–२० वरियताको शीर्ष सयमा 

८ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टी–२० वरियतामा पहिलो पटक समावेश भएका छन् । ।

आईसीसीले मंगलबार जारी गरेको नयाँ वरियतामा कुशल ब्याटिङतर्फ ९३औं स्थानमा रहेका छन् । अहिले नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले शुरुवाती तीन खेलमै लगातार अर्धशतक बनाएका थिए । कुशलको ३५९ रेटिङ अंक छ ।

त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमै उनले नेदरल्याण्ड्सविरुद्ध डेब्यू गर्दै ६२ रन बनाएका थिए । डेब्यूसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बनेका कुशल पहिलो पटक ब्याट्सम्यानको वरियतामा अटाएका हुन् ।

ब्याटिङतर्फ त्रिकोणात्मक सिरिज नखेलेका पारस खड्का ८३औं स्थानमा छन् । पारसले चोटका कारण यस त्रिकोणात्मक सिरिज भने खेलेका छैनन् ।

विश्व टी–२० वरियतामा डेविड मालान शीर्ष स्थानमा छन् । पाकिस्तानका बाबर अजाम दोस्रो स्थानमा उक्लिका छन् । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल १०७औं स्थानमा छन् । उनले १० स्थान सुधार गरेको आईसीसीले जनाएको छ ।

यस्तै  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङतर्फ ७ स्थान सुधार गर्दै ७७ औं स्थानमा पुगेका छन् । उनले त्रिकोणात्मक सिरिजमा ३ खेलमा ८ विकेट लिइसकेका छन् ।

बलिङमा शीर्ष सयभित्र नेपालका सन्दीप मात्र छन् । बलिङको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका स्पिनर ताबरेज शाम्सी छन् भने अलराउन्डरमा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment