१९ वैशाख, काठमाडौं । केरला क्रिकेट संघ (केसिए)ले भारतका पूर्व क्रिकेटर एस श्रीसन्थलाई राज्यभित्र हुने सबै प्रकारका क्रिकेट गतिविधिबाट तीन वर्षका लागि निलम्बन गरेको छ।
संघका अनुसार उनले टेलिभिजन बहसमा भारतीय क्रिकेटर सन्जु सामसन च्याम्पियन्स ट्रफीको टोलीमा नपरेको विषयमा दिएको टिप्पणी र त्यसपछि संघले पठाएको नोटिसको जवाफ अपमानजनक र अनुचित थियो।
संघको अप्रिल ३० मा बसेको साधारण सभा बैठकबाट उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो। श्रीसन्थले सन्जु सामसनको टिममा नपर्नुमा केरला क्रिकेट संघलाई दोष दिएका थिए।
संघले यसलाई तथ्यहीन आरोप भन्दै आपत्ति जनाएको छ। यसै विषयमा सामसनका पिता विश्वनाथलाई पनि नोटिस पठाइएको थियो तर उनको जवाफ श्रीसन्थको जस्तो कठोर नभएको संघले जनाएको छ।
४२ वर्षीय श्रीसन्थ भारतका लागि २७ टेस्ट, ५३ एकदिवसीय र १० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका अनुभवी क्रिकेटर हुन्। उनी सन् २००७ को टी-२० र २०११ को एकदिवसीय विश्वकप जित्ने भारतीय टोलीका सदस्य समेत थिए।
उनले केरला क्रिकेट लिगको फ्रेन्चाइज ‘कोल्लम एरिज’ मा सह-स्वामित्व रहेका छन्। यद्यपी अब निलम्बनपछि उनी कुनै पनि आधिकारिक क्रिकेट गतिविधिमा सहभागी हुन पाउने छैनन्, तर फ्रेन्चाइज सदस्यका रूपमा भने रहन पाउनेछन्।
श्रीसन्थ पहिले पनि विवादमा मुछिइसकेका छन्। सन् २०१३ को आईपीएल स्पट फिक्सिङ प्रकरणमा उनी दोषी ठहरिएर बीसीसीआईबाट आजीवन निलम्बनमा परेका थिए। पछि भारतको सर्वोच्च अदालतले उनलाई निर्दोष ठहर गरे पनि उनको क्रिकेट करियरमा ठूलो असर परेको थियो।
-क्रिकबजबाट
प्रतिक्रिया 4