Comments Add Comment

अष्ट्रेलियाले रद्द गर्‍यो चीनको बीआरआई अन्तर्गतका दुई सम्झौता

९ वैशाख, काठमाडौं । अष्ट्रेलियाले चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) योजना अन्तर्गतका दुई सम्झौता रद्द गरेको छ । बुधबार अष्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले चीन र भिक्टोरिया प्रान्तसँग भएको दुई सम्झौता रद्द गरेको घोषणा गरेकी हुन् ।

चीनको अष्ट्रेलिया सरकारसँग बीआरआईको विषयमा सहमति जुट्न नसकेपछि भिक्टोरिया प्रान्तसँग उक्त सम्झौता भएको थियो । तर, हालै मात्र अष्ट्रेलियाको केन्द्रीय सरकारले प्रान्तीय सरकारले गरेको सम्झौता रद्द गर्ने विशेषाधिकार पाएको थियो । पहिलोपटक अष्ट्रेलियाले उक्त विशेषधिकारको प्रयोग गरेको हो ।

चीनसँगको दुई सम्झौताका साथै इरान र सिरियासँगको दुई सम्झौता पनि रद्द भएको विदेशमन्त्री पेनले बताएकी छिन् । चारवटै सम्झौता अष्ट्रेलियाको वैदेशिक सम्बन्धलाई स्थिर राख्न रद्द गरिएको विदेशमन्त्री पेनले बताइन् । उनले चीनले यो निर्णयबाट प्रभावित भएर जवाफी कदम नचाल्ने विश्वास व्यक्त गरिन् ।

चीनले भने अष्ट्रेलियाको यो निर्णय भड्काउने किसिमको रहेको बताएको छ । अष्ट्रेलियास्थित चिनियाँ दूतावासले अष्ट्रेलियाको यो निर्णयले दुई मुलुकको सम्बन्धमा क्षति पुर्‍याउने र यसले अष्ट्रेलियालाई नै नोक्सानी पुग्ने बताएको छ । पछिल्लो समय अष्ट्रेलिया र चीनको सम्बन्ध तनावपूर्ण देखिएको छ । कोरोना भाइरसको महामारी शुरु भएसँगै यी दुई मुलुकबीचको तनाव बढेको हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment