Comments Add Comment

जनमोर्चाले सोध्यो– हाम्रो सांसदलाई अस्पतालमा बन्दीको रुपमा राख्नुको कारण के हो ?

१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेको छ । राष्ट्रिय जनमोर्चाले मतदानको बेलामा भएको शाहीको अनुपस्थितिलाई रहस्यमय भनेको छ ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा उनी सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको थियो । पछि उनी पोखराको चरक अस्पतालमा भर्ना भएको थाहा भएको थियो । जिम्मेवार केन्द्रीय नेता तथा सांसदहरु जाँदा पनि उनीसँग भेट गर्न नदिइएको जनमोर्चाले जनाएको छ ।

‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’ राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’

यो पनि पढ्नुहोस गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !

कोरोना संक्रमण भएको रिपोर्टसहित शाही चरक अस्पतालको कोभिड आइसियूमा भर्ना भएका छन् । तर कोरोना परीक्षण रिपोर्टमा समेत जनमोर्चाले प्रश्न उठाएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको शाहीलाई अकस्मात कसरी पोजेटिभ रिपोर्ट आयो भनेर जनमोर्चाले प्रश्न गरेको छ ।

‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

जनमोर्चाले गण्डकी प्रदेशको संसदको गतिविधिलाई अस्वाभाविक रुपमा लिएको भन्दै जनमोर्चाले संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । शाहीको स्थितिबारे थप सूचना प्राप्त भएपछि जानकारी दिने उपाध्यक्ष पौडेलले बताएकी छन् ।

गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको प्रष्ट र दृढ नीति रहेको उल्लेख गर्दै पौडेलले मतदानको दौरानमा भएका घटनाप्रति आश्चर्य र दुःख लागेको जनाएकी छन् ।

गण्डकी प्रदेशमा बुधबार मतदानको तयारी हुँदै गर्दा राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले शाहीको स्थिति अज्ञात भएको भन्दै उनी उपस्थित नहुँदासम्म अविश्वास प्रस्तावमाथिको मतदानलाई स्थगित गर्न माग गरेकी थिइन् । त्यसैको आधारमा सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशसभाको बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

जनमोर्चासमेतको समर्थनमा कांग्रेस, माओवादी र जसपाका सांसदहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सरकार जोगाउने र ढाल्ने अंकगणितको खेलमा जनमोर्चा निर्णायक भूमिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment