Comments Add Comment

अष्ट्रेलियाको ठूलो प्रविधि कम्पनीले कर्मचारीलाई भन्यो : वर्षमा ४ दिनमात्रै अफिस आउनू

काठमाडौँ । अष्ट्रेलियाको सबैभन्दा ठूलो प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरुले जहाँसुकैबाट काम गर्नसक्ने घोषणा गरेको छ । ८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले आफ्ना कर्मचारीहरु वर्षमा केवल चार दिनमात्र कार्यालय आउसक्ने व्यवस्था गरेको छ । अर्थात् कर्मचारीहरुले आफ्नो पायक पर्ने कार्यालयमा हरेक त्रैमासिक अवधिमा एकपटक मात्र उपस्थित भए पुग्नेछ ।

कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्‍यनजर गर्दै कम्पनीले ‘टीम एनी ह्वेयर’ नीति लागू गरेको छ । जस अन्तर्गत कम्पनीले विश्वका विभिन्न देशमा कार्यरत आफ्ना ५७ सय कर्मचारीहरुलाई कम्पनीको शाखा रहेका विश्वका जुनसुकै देशबाट काम गर्न सक्ने व्यवस्था गरेको हो ।

त्यसका लागि कम्पनीले विभिन्न देशको समयमा हुने फरकको समायोजनका लागि समेत कर्मचारीहरु खटाएको छ । अहिले उक्त कम्पनीका विभिन्न ७ वटा देशमा कार्यालयहरु रहेका छन् ।

एटलासियनका सहसंस्थापक तथा प्रमुख कार्यकारी स्कट फार्कुहारका अनुसार घरबाटै काम गर्न पाउने स्थायी व्यवस्थाले कम्पनीलाई अस्ट्रेलियामा अवस्थित विश्वव्यापी जनशक्ति भएको कम्पनीको रुपमा स्थापित गराएको बताए । उनले आफू गत १२ महिनामा केवल ३ पटक मात्र अफिस गएको भन्दै कम्पनीको उक्त नीतिले उत्कृष्ट क्षमतावान जनशक्ति आकर्षित गर्ने दाबी गरे ।

संस्थापक स्कट फार्कुहार र माइक क्यानन ब्रुक्सले एक ब्लग पोष्टमा कोभिड-१९ ले इतिहासमा अहिलेसम्मकै वृहत दूर कार्य अनुभव अर्थात् रिमोट वर्क एक्सपेरिमेन्टको अवसर सिर्जना गरेको बताएका छन् ।

सन् २०२० मा कोरोना महामारी उच्चतम विन्दुमा पुगेका बेला कम्पनीले एक आन्तरिक आदेश जारी गर्दै भाइरसले दूरकार्य संस्कृतिलाई बढावा दिने योजना लागू गर्नमा बल पुगेको बताएको थियो ।

मेलवर्न इन्स्टिच्यूटले गरेको एक अनुसन्धान अनुसार कोभिड-१९ का बेला घरबाटै काम गरेकामध्ये ७० प्रतिशतले महामारी साम्य भएपछि पनि घरबाटै काम गर्न रूचाउनेछन् । शोधकर्ताका अनुसार कर्मचारीहरुले दूरकार्यमा बानी पार्दै गएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment