Comments Add Comment

५५ दिनमै पहिलो लहरको उच्च विन्दुनजिक पुग्यो संक्रमण

१७ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर तीव्र गतिमा फैलिएको छ र, नयाँ संक्रमितको संख्या पहिलो लहरको विन्दुनजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरमा ५ हजार ७२७ नयाँ संक्रमित थपिएका छन् । १५ हजार ३९१ जनाको पीसीआर टेष्ट गर्दा ५६५७ र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार एकैदिनमा थपिएका संक्रमितको संख्या पहिलो लहरको उच्च विन्दु नजिक हो । नेपालमा माघ १० मा पहिलो केस भेटिएको थियो भने कात्तिक ५ गते २० हजार ७४२ नमुना परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा नयाँ भेरियन्ट युके भेरियन्ट र डबल म्युटेट भेटिएको छ । जनस्वास्थ्यविद् प्रभात अधिकारीका अनुसार युके भेरियन्ट आफैंमा तीव्र गतिमा फैलिने भाइरस हो । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र भीडभाड गर्ने हाम्रो व्यवहार पनि भाइरस फैलाउन सहयोगी बन्यो । डा. अधिकारी भन्छन्, ‘मानिसहरुले साबुन पानीले हात धुने, मास्क लगाउने, भीडभाड नगर्ने जस्ता मापदण्डहरु बिर्सिए । पार्टी भोजभतेर हुन थाल्यो । यसले पनि पनि संक्रमण फैलाउन मदत गर्‍यो ।’

उनका अनुसार अहिले युवा र बालबालिकामा पनि संक्रमण देखिएको छ र उनीहरुमध्ये कतिपयलाई गाह्रो पनि बनाएको छ । संक्रमण भएपछि स्वास्थ्यमा समस्या भएर अस्पताल आएकाहरुको अवस्था गम्भीर समेत पाइएको छ । ‘सबैको टेष्ट भएको छैन । जसलाई गाह्रो भयो, उहाँहरुले टेष्ट गर्दा संक्रमण भएर पनि यस्तो देखिएको हुनसक्छ’ डा. अधिकारी भन्छन् ।

तत्काल गर्नुपर्ने पाँच काम

डा. अधिकारीका अनुसार संक्रमण थप फैलिन नदिन तत्काल गर्नुपर्ने पहिलो काम मोबिलिटी कम गर्नु । संक्रमण बढी भएका जिल्लाहरुमा निषेधाज्ञा गर्नु जायज भएको उनले बताए । अहिले काठमाडौं उपत्यकासहित ५०० भन्दा बढी भएका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

तर यसले मात्र पुग्दैन । त्यसैले जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुपर्ने उनको भनाइ छ ।

संक्रमण समुदायमा पुगिसकेकाले परीक्षण पनि बढाउनुपर्छ । कतिपयले मौसम परिर्वतन, धुलो आदिका कारण रुघाखोकी लागेको होला भनेर पनि परीक्षण नगरी बस्ने गरेको पाइएको भन्दै लक्षण देखिनासाथ आइसोलेट हुने र परीक्षण गर्ने गर्नुपर्ने बताए ।

‘लक्षण देखिएको छ भने टेष्ट गरिहालौं । परिवारका सबैलाई टेष्ट गर्नुस् भन्दा व्यवहारिक नहुन पनि सक्छ’ उनले भने, ‘परिवारमा ४/५ जनालाई लक्षण देखिएको छ भने एकाधको मात्र भए पनि परीक्षण गरौं ।’

कोरोना संक्रमितलाई लक्षण देखिनुभन्दा एकदुई दिन अगाडि नै अरुलाई सार्नसक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङलाई पनि त्यतिकै प्राथमिकता दिनुपर्ने उनले बताए । डा. अधिकारी भन्छन्, ‘यदि कसैलाई संक्रमण भइहाल्यो भने पछिल्लो २/३ दिनमा आफूले भेटेका मानिसहरुलाई आइसोलेट हुन र परीक्षण गर्न भनौं ।’

यसका साथै खोप अभियानलाई पनि प्रभावकारी बनाउनुपर्ने डा. अधिकारी बताउँछन् । उनका अनुसार खोप सहज उपलब्ध भएको अवस्थामा सबैलाई लगाउनुलाई अन्यथा भन्न सकिन्न ।

तर खोप अभाव भएका बेला पहिलो डोज मात्र लगाउन सके पनि संक्रमणबाट जोगाउने वा संक्रमण भइहाले पनि गम्भीर समस्या आउने सम्भावना कम हुने भन्दै उनले भने, ‘हामीले पनि भर्खर संक्रमणमुक्त भएका, एन्टिवडी भएकाहरुको साटो अरुलाई दिए सकेको भए हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment