
१९ वैशाख, काठमाडौं । कपिलवस्तु–२ (१) का सांसद दृगनारायण पाण्डेयले जनताको बीचमा जानै नसक्ने अवस्था आएकाले पदबाट राजीनामा दिएको बताएका छन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा आइतबार विहान सहभागी भएका पाण्डेयले एमाले पार्टी र सांसद पदबाट राजीनामा दिएका छन् ।
‘आफ्नो पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको छु । तर जनताको चाहना अनुसार राजनीतिमै रहन्छु’, पाण्डेयले अनलाइनखबरसँग भने । जनता कोरोना महामारीमा पिल्सिरहेका बेला सत्ता बनाउने र गिराउने खेल हुँदा पदमा रहिरहन उपयुक्त नदेखेको पनि उनले बताए ।
‘पार्टीको घोषणापत्रमा गरेको वाचा अनुसार काम हुन सकेन । यस्तै अवस्थामा चुनावमा जाँदा त जनताले लखेट्छ’, पाण्डेयले भने । त्यसैले पदमा बसिरहन उपयुक्त नठानेको पनि उनले बताए । अब प्रदेश सरकार बनाउने र गिराउने खेलमा आफू नरहेको पनि पाण्डेयको प्रष्ट पारे ।
‘बहुमत र अल्पमत जसुकैको होस् मतलव भएन’, उनले भने । तर जनतासँग जोडिएर बस्ने पाण्डेयले बताए । पाण्डेय नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।
सांसद पाण्डेयले दिएको राजीनामा
प्रतिक्रिया 4