
२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने र थप कडाइ गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल विहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था थियो ।
त्यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।
अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीले विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिस बनाएमा आवतजावतका लागि प्रशासन कार्यालयले सहजीकरण गरिदिनेछ । विकास निर्माणका काम गर्न सम्बन्धित आयोजनाले कामदारलाई आवासीय रुपमा नै राख्नुपर्नेछ र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।
पत्रकार तथा सञ्चारकर्मीले सूचना विभागको पास देखाएर आवतजावत गर्न सक्नेछन् । सूचना विभागको पास नभएमा कर्मचारीको विवरण सञ्चार गृहले जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ ।
फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाइएको छ ।
उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाए मात्र जान पाइनेछ ।
प्रतिक्रिया 4