२९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विमानस्थल आसपास लगाइएको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र फागुन १ (भोलि) बाट लागू हुने गरी एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
विमानस्थल आसपासका क्षेत्रमा केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
यद्यपि त्यसप्रति आपत्ति जनाउँदै लिङ्देनले भनेका छन्, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव बिथोलिन नदिन हो कि आफैं बिथोल्न लागेको हो ?’
संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग भएको खण्डमा निषेधाज्ञा कसले मान्छ ? भन्दै लिङ्देनले प्रश्न समेत गरेका छन् ।
‘संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ?,’ सामाजिक सञ्जालमार्फत उनको प्रश्न छ ।
राजावादी समूहहरूले भोलि विमानस्थल हुँदै पूर्वराजा ज्ञानेन्द्र शाह आउने कार्यक्रम रहेको भन्दै विभिन्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
ती कार्यक्रममा सरिक हुनका लागि राजावादी समूहहरूले अपिल समेत गरेका छन् ।
प्रतिक्रिया 4