Comments Add Comment

उपत्यकामा आजबाट एक साता निषेधाज्ञा थपियो

२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ । १६ वैशाखदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञा लम्बाइएको बताए ।

थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् । त्यसैले आजबाट बिहान ९ बजेसम्म मात्र खाद्य वस्तुका पसलहरु खोल्न दिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । यसअघि साँझपख पनि पसल खोल्न पाउने व्यवस्था हटाइएको छ ।

यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । अब जिल्ला प्रशासन कार्यालयहरुले नयाँ पास जारी गर्नेछन् । पत्रकारहरुका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाहरु आफ्नो कार्यालयको परिचयपत्रको आधारमा हिँडडुल गर्न पाउने छन् तर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउनुपर्ने छ ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।

यसैगरी सम्बन्धित पालिकाले अनिवार्य रुपले १० दिन क्वारन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस दिए मात्रै काठमाडौं उपत्यका छाड्न पाइनेछ ।

अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने छ । विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको छ ।

फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment