Comments Add Comment

कसरी मिलाउने खानपानमा सन्तुलन ?

पोषणविद्हरु भन्छन्, खाना नै सम्पूर्ण औषधि हो । यसको अर्थ खानामा ति सबै कुरा सामेल हुन्छन्, जो हाम्रो शारीरिक स्वास्थ्यको लागि जरुरत हुन्छ । शरीरलाई निरोगी राख्न, फुर्तिलो बनाउन, उर्जावान राख्न, दीर्घायु बनाउन खानपानको मूख्य भूमिका हुन्छ । खाना खानु भनेको भोक मेट्नु वा जिब्रोको तलतल मेट्नु मात्र होइन । बरु, स्वस्थ जीवनयापन गर्नु हो ।

तर, कस्तो खानपान ?

यो प्रश्न किनपनि उठ्छ भने खानपानकै कारण अहिले हामी रोगी र जीर्ण हुँदैछौं । विश्वमा अहिले जतिपनि रोग देखिएका छन्, त्यसमा खानपान पनि एउटा कारण बनेको छ । अर्थात खराब खानपान रोगको कारण बनेको छ । यस्तो अवस्थामा ताजा, सुपाच्य, सन्तुलित खानपान जरुरी हुन्छ ।

खाना कसरी सन्तुलित हुन्छ त ?

पोषणविद्हरुका अनुसार सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ , जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सामान्यतया, सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

यसको फाइदा पनि विभिन्न किसिमको हुन्छ ।

–सन्तुलित आहारले गर्भवती महिलालाई आवश्यक पोषण प्रदान गरी गर्भमा रहेको शिशु, बालबालिका तथा किशोरकिशोरीको बृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

–यसले शरीरमा उर्जाको प्रवाह गर्छ, शरीरलाई विभिन्न रोगसित लड्न मद्दत गर्छ ।

सन्तुलित आहारले एनिमिया, मोटोपना, उच्च रक्तचाप, हृदय रोग, मधुमेह , स्ट्रोक, अस्टियोपोरोसिस, क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।

आहारको अवधारणालाई बुझ्न अझै सजिलो होस् भन्नका लागि आहारलाई निम्न समूहमा विभाजित गरिएको छ ।

–अन्न तथा आलु (कावोहाइड्रेट्स)

–फलफूल तथा सागसब्जी ( भिटामिन तथा खनिज)

–दूधजनय पदार्थ (प्रोटिन तथा क्याल्सियम)

–माछा, मासु, दाल, गेडागुडी (प्रोटिन)

–तेल (फ्याट ÷वोसो)

एउटा सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे«ट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ  । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठ देखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।

मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो ।

सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।

फ्याटयुक्त तेललाई भने नियन्त्रित मात्रामा प्रयोग गरिनु पर्छ । शरीरलाई स्वस्थ राख्न वोसोको आवश्यकता थोरै मात्र हुन्छ । सरस्यूको तेल,  सूर्यमुखी फूल, मकैको तेल फ्याट अन्तर्गत पर्दछ ।

दूध, दही, पनीर लगायतका दूग्धजन्य पदार्थ भने भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत मानिन्छ । यी सबै पोषकतत्प हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने भएकोले दूधमा वोसोको मात्रा धेरै हुन्छ । त्यसैले चिकित्सकहरु तर निकालिएको दूध सेवन गर्न सल्लाह दिने गर्दछन् ।

त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबीन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो श्रोत मानिन्छ । सोयाबीन र नट्समा विभिन्न किसिमको पोषकतत्व पाइन्छ । यसले विशेषगरी मांसपेशी तथा टिस्यूको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मुख्य भूमिका खेल्दछ ।

प्रत्येक दिन सबै किसिमका खाद्य पर्दाथको चयन गरेर त्यसमा पनि निश्चित प्रकारकै खाद्य पदार्थलाई खानामा समावेश गरेर  शरीरलाई पोषण प्रदान गर्न सकिन्छ ।

किनकी हामीले जे खान्छौ, त्यो सबै खानेकुराले शरीरलाई पोषण नमिल्न सक्छ ।

शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट , खनीज पदार्थलाई समावेश गर्न जरुरी छ । साथमा शारीरीक गतिविधि गर्न आवश्यक छ । अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ । त्यतिमात्र हैन, शरीरलाई आवश्यक मात्रामा पोषकतत्व प्रदान नभएमा यसले कुपोषणको समस्या समेत निम्त्याउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment