Comments Add Comment

डोनाल्ड ट्रम्पको प्रतिबन्धमाथि पुनर्विचार गर्न फेसबुकलाई आदेश

फेसबुकको सर्वोच्च अदालत मानिएको निगरानी बोर्डले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा लागेको प्रतिबन्धमाथि पुनर्विचार गर्न कम्पनीलाई आदेश दिएको छ ।

तत्कालका लागि ट्रम्पमाथिको प्रतिबन्ध सदर गरेतापनि बोर्डले ट्रम्पमाथि स्थायी रुपमा प्रतिबन्ध लगाउने कुराको आलोचना गर्दै यस्तो स्थायी प्रतिबन्ध फेसबुकको सजायँ नीति भित्र नपर्ने जनाएको छ ।

साथै बोर्डले टम्पमाथिको प्रतिबन्धको निर्णय पुनर्विचार गर्न फेसबुकलाई आदेश दिँदै सबैखाले फेसबुक प्रयोगकर्ताका लागि लागू हुने खालको न्यायसँगत उपाय अबलम्बन गर्न भनेको छ । अमेरिकी संसदमा ट्रम्प समर्थकको हिंसापश्चात् गत जनवरी देखि फेसबुक र इन्स्टाग्रामले ट्रम्पलाई प्रतिबन्ध लगाउँदै आएका छन् ।

ट्रम्पलाई स्थायी रुपमा निलम्बन गर्ने फेसबुकको प्रारम्भिक निर्णय दिशाहीन तथा मापदण्डहीन देखिएको भन्दै फेसबुकले गर्ने प्रतिकार्य भनेको सबै प्रयोगकर्ताका लागि लागू हुने खालका नियमहरुसँग तादात्म्य राख्नुपर्ने ठहर गरेको छ ।

ट्रम्पमाथिको प्रतिबन्धका विषयमा फेसबुकले ६ महिनाभित्रमा पुनर्विचार गरी चित्तबुझ्दो जवाफ निगरानी बोर्डलाई दिनुपर्नेछ ।

पत्रकार सम्मेलनमा बोर्डकी सहअध्यक्ष हेले थोर्निंग स्कमिडटले आफुहरुसँग यो मामिलाको सजिलो उत्तर नरहेको बताइन् । फेसबुकले बोर्डको निर्णयको कदर गर्नुपर्ने उनको भनाई छ ।

यस घटनाका विषयमा फेसबुकले गरेको मूल्यांकनलाई पछाडि फर्केर हेर्न बोर्डले आग्रह गरेको भन्दै उनले सबै प्रयोगकर्तालाई समान व्यवहार गर्नुपर्ने र जथाभावी सजाय गर्न नहुने बताए । यस सम्बन्धका प्रतिक्रिया जनाउँदै फेसबुकले बोर्डको निर्णयका विषयमा विमर्श गरिने र प्रष्ट तथा सन्तुलित कार्य निर्धारित गरिने बताएको छ ।

बोर्डको आदेशको अर्थ ट्रम्पमाथिको प्रतिबन्ध तत्कालका लागि कायमै रहनेछ । तर स्थायी प्रतिबन्धका विषयमा चाहीँ फेसबुकले पुनर्विचार गर्नुपर्ने उसको आदेश छ । स्मरण रहोस् फेसबुक, ट्वीटर तथा गुगल लगायतका प्लाटफर्मबाट प्रतिबन्धमा परेका ट्रम्पले मंगलबारमात्र आफ्नै नयाँ वेबसाइट सुरु गरेका छन् ।

फेसबुकको निगरानी बोर्डको निर्णय सार्वजनिक भएसँगै ट्रम्पले वेबसाइटमा लेखेका छन् ‘फेसबुक, ट्वीटर र गुगलले जे गरेका छन् त्यो पूर्णतः लज्जाजनक छ । अमेरिकी राष्ट्रपतिबाट वाक स्वतन्त्रता खोसियो किनकी वाम मनोरोगीहरु सत्यबाट डराएका छन्।

स्रोत:बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment