Comments Add Comment

भेरी अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट राख्ने तयारी

२३ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव टार्न लिक्विड अक्सिजन प्लान्ट जडान प्रक्रिया अगाडि बढाएको छ ।

तर भारतमा लकडाउनका कारण आवश्यक सामग्री आपूर्ति हुन नसक्दा प्लान्ट जडान कार्य प्रभावित बनेको अस्पतालले जनाएको छ ।

अक्सिजन ट्यांक जडानको सबै तयारी पूरा भइसके पनि बुलेट मार्फत ढुवानी हुने क्रायोजेनिक अक्सिजनको आयात निश्चित नभइसकेकाले प्लान्ट ‘सिस्टम’ जडान हुन नसकेको अस्पतालले जनाएको छ ।

प्लान्ट जडानका निम्ति फाउन्डेसन निर्माण सम्पन्न भइसकेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए । अक्सिजन भण्डारणका लागि रिजर्भ्वायर ट्यांक समेत आपूर्ति भइसकेको उनको भनाइ छ । थापाका अनुसार अक्सिजन प्लान्ट जडानको काम ९० प्रतिशत सकिएको छ ।

बुलेटमार्फत भारतबाट ढुवानी हुने क्रायोजेनिक अक्सिजन आयातका लागि सरकारले भारतसँग समन्वय गरिसकेको जानकारी आज मात्रै आफूले पाएको थापाले बताए ।

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अक्सिजनको माग पनि बढेपछि दीर्घकालीन समाधानका लागि अस्पतालले फास्ट ट्र्याकमार्फत लिक्विड अक्सिजन ट्यांक जडान प्रक्रिया अघि बढाएको उनले बताए ।

अक्सिजन प्लान्ट सञ्चालनमा आइनसकेको भन्दै अत्यावश्यक बाहेक कसैले पनि व्यक्तिगत रुपमा घरमा अक्सिजन सिलिण्डर होल्ड नगरिदिन अस्पतालले अनुरोध समेत गरेको छ ।

समुदायमा स्थापित आइसोलेसनले आवश्यक संख्यामा मात्र सिलिन्डर राख्न अनुरोध गर्दै अस्पतालले ‘जीवन वायु’ को रुपमा रहेको अक्सिजन आपूर्तिको सहज आपूर्ति व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment